जहदाका वडाध्यक्ष गिरीलगायत एमालेमा प्रवेश

विराटनगर । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका ४ का वडा अध्यक्ष कृष्ण गिरी भन्ने जयनरथ गिरीले ७४५ नेता तथा कार्यकर्तासहित नेकपा एमालेमा शनिबार प्रवेश गर्नुभएको छ ।

कोरोना महामारीका बीच जहदा नगर कमिटीले हजारौं नेता तथा कार्यकर्ताको उपस्थितिमा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष गिरी, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी सीमा राजबंशीलगायतका व्यक्तिलाई पार्टी प्रवेश गर्नुभएको हो ।

जसपा, कांग्रेस, माओवादी केन्द्रका गाउँपालिकास्तरीय नेता तथा कार्यकर्तालाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालले खादा र अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो । ढकालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य पूरा गर्न एमाले जस्तोसुकै अवस्थामा जनताबाट अनुमोदित भएर आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेकपा एमाले नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पुस्तौंदेखिको जग्गाको मालिक बन्ने सपना पूरा गर्ने प्रयास गरेको तर वर्तमान सरकारले आयोग खारेज गरी दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको भावनासँग खेलबाड गरेको बताउनुभयो ।

उहाँले सर्वहारा वर्गको नेतृत्व गर्ने एक मात्र पार्टी एमाले भएकोले सबैको आशा र भरोसाको केन्द्र भएकोले पुनः आउँदो निर्वाचनबाट आम नेपाली जनताको समर्थन, सहयोग र जनमत प्राप्त गरी सुखी नेपाली, समृद्ध नेपाललगायतका लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Back to top button