मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु उज्यालो पार्दै विद्युत प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उज्यालो सहर अभियान सञ्चालन गर्ने भएको हो । प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको हो ।

अभियान अन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक वत्ति (स्मार्ट लाइट) जडान गरिने छ ।

प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ । नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन् ।

यस्तै सफाइ अभियान अन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्ने लगायतका काम अगाडि बढाइने छ ।

यसबाट सहरको सौन्दर्य अभिबृद्धि हुने, विद्युत माग बढ्ने र रातिको खेर जाने विद्युत पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्य योजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गर्नुभएको थियो ।यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले अभियान चलाउन लागेको हो ।

उज्यालो नुहँदा ऐतिहासिक धरोहरहरु र पर्यटकीय स्थलहरु र सडक राति अँध्यारो हुने गरेका कारण स्मार्ट लाइट जडानबाट एकातर्फ यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्नेछ भने अर्कोतर्फ सहरी सौन्दर्यमा बृद्धि हुने भएकोले अभियान सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

Back to top button