कांग्रेसको क्रियाशिल विवाद समाधान समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले आज अपरान्ह प्रतिवेदन बुझाउने भएको छ । समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासित समय माग गरिएको छ ।

अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरिएको लेखकले जानकारी दिनुभएको छ । गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय दिइएको थियो ।

तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन । कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । यद्यपी सभापति देउवा पक्षले भने आजपनि समितिले प्रतिवेदन बुझाउनेमा आशंका ब्यक्त गरेको छ ।

Back to top button