कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ

विराटनगर । मिक्लाजुङ गाउँपालिका ६ भण्डारीटोलका ४५ वर्षीय धनराज लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ ।

स्थानीय ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय संजय तामाङ, ३० वर्षीय आइतराज तामाङ र ४० वर्षीय भाग्य बम्जनलाई पक्राउ गरेको हो । रविन र उहाँकी पत्नी नीरुताबीच भदौ ३ गते राती ८ः४० बजे विवाद भइरहेको थियो ।

त्यही समयमा रविनका जेठान भाग्य बम्जनले स्थानीय धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई साथमा लिएर सम्झाईबुझाई गर्न बहिनीको घरमा पुगेका थिए । तर रविनका परिवारजनले घरयासी विवादमा बाहिरको मान्छे आएको भन्दै दाउराले उहाँहरुलाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते कार्की स्थानीय अस्पतालमा उपचारपछि घर फर्किए पनि धनराजको विराटनगरस्थित विराट अस्पतालमा उपचारको क्रममा भदौ ५ गते राती ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनु भयो ।

पक्राउ परेकाहरुलाई हिजो जिल्ला अदालत मोरङबाट ज्यानसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button