लेटाङ र सुन्दरहरैचाले खोला ठेक्कामा लगाउँदा अनियमितता गरेको खुलासा

विराटनगर । मोरङका दुई वटा पालिकाले खोला उत्खनन् गर्दा ठेकेदार कम्पनी संग मिलमतो गरेको खुलेको छ । लेटाङ नगरपालिका र सुन्दरहरैचा नगरपालिकाले खोला ठेक्कामा लगाउँदा अनियमितता गरेको खुलेको हो ।

सुन्दरहरैचा नगरपालिकाले दुई ठेकेदार कम्पनीसँग मिलेमतो गरेर कम दरमा बोलकबोल गर्नेलाई खोला ठेक्का दिएर अनियमितता गरेको महालेखाको प्रतिबेदनमा उल्लेख गरीएको छ । खदम खोला, गछिया खोला र बुढीखोलाबाट ढुंगा गिटी, ग्राभेल माटो आदि उत्खनन् गर्न आव्हान गरेको बोलपत्रमा मिलेमतो देखिएको हो ।

दुई ठेकेदार कम्पनीले मिलेमतो गरेर थोरै कबोल गर्ने कम्पनीले ठेक्का लिने गरी बनाउँदा नगरपालिकालाई २ करोड ५७ लाख भन्दा बढी नोक्सानी भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

खोला ठेक्कामा भएको अनियमितताको विषयमा महालेखा परीक्षण प्रतिवेदनले नै नियम विपरीत कम बोल–कबोल गर्नेलाई ठेक्का दिइएको र बढी बोल–कबोल गर्नेले ठेक्का स्वीकार नगरेपछि नगरपालिकाले त्यस कम्पनीलाई कालो सूचिमा नराखेको भन्दै मिलेमतो भएको जनाएको हो ।

प्रतिवेदन अनुसार ई बिडिङ बाट बोलपत्र आव्हान गर्दा ११ कम्पनीले आवेदन दर्ता गरेका थिए । ति मध्ये स्वामिनारायण निर्माण सेवाले ८ करोड ८८ लाख ८८ हजार ८सय ८८ रुपैयाँमा ठेक्का प्रस्ताव गरेको थियो । सबैभन्दा बढी कबोल गर्ने स्वामिनारायणलाई नै नगरपालिकाले ठेक्का दिने निर्णय गरे पनि उसले सम्झौता गर्न अस्वीकार ग¥यो ।

त्यसपछि नगरपालिकाले दोस्रो ठूलो अंकमा प्रस्ताव गर्ने बिसार वेल्ही रियलस्टेट प्रा.ली.सँग ६ करोड ३१ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाउने सम्झौता गरेको थियो ।

बिसार वेल्ही रियलस्टेटका सञ्चालक भने सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालका बहिनि ज्वाँई हुन । दुइ कम्पनि मिलेर राजश्व छलिगर्न खोजेपनि नगरपालिकाले भने स्वामिनारायणलाई नगरपालिकाले धरौटी रकमको ५ प्रतिशत जफत गर्ने काम मात्र गरेको थियो ।

बोलपत्र प्रस्ताव गरेपछि खरिद सम्झौता गर्न नआए ३ वर्षसम्म कम्पनीलाई कालोसूचीमा राख्न सक्ने व्यवस्था भएपनि नगरपालिकाले कुनै कारवाही नगरेको महालेखाको प्रतिबेदनमा उल्लेख गरीएको छ ।

यस्तै मोरङको लेटाङ नगरपालिकाले पनि तेलि खोला र चिसाङ खोलाको ढुङ्गा,गिटि बालुवा उत्खन्न गर्दा ठेकेदारसँग मिलेमतो देखाएको छ । २०७६ माघ २७ गते बिनिता ग्रेड एण्ड सप्लार्यससँग नगरपालिकाले खोला उत्खन्नका लागि सम्झौता गरेको थियो ।

बिनिता ग्रेड एण्ड सप्लार्यसका सञ्चालक भने भीम पौडेल हुन् । मुल्य अभिबृद्धिकर (मु.अ.कर)सहित १४ करोड ३० लाख ५८ हजार मा ठेक्का सम्झौता गरीएको थियो ।

सम्झौता अनुसारको रकम एकमुष्ट बुझाएको भन्दै नगरपालिकाले १० प्रतिशत छुट दिएको थियो । १ करोड २६ लाख ६० हजार छुट दिई बाँकि रकम ११ करोड ३९ लाख ४० हजार र मुअकर सहित १३ करोड ३ लाख ९८ हजार नगरपालिकाको खातामा जम्मा गरी कार्यादेश लिएका थिए ।

कार्यालयकै कर्मचारीको मिलेमतोमा १२ बजेपछाडी सप्लार्यसका प्रतिनिधिलाई बैकमा पठाएर चेक जम्मा गर्न लगाएको अनुमान गरीएको छ । उक्त चेक भने वाउन्स भएको थियो । नगरपालिकाले भने सम्झौता गरीसकेको थियो । मुअकरको रकम भने सप्लायर्सले असार ३० गते मात्रै बुझाएपछि महालेखाले नगरपालिकालाई प्रश्न उठाएको छ ।

यता नगरपालिकाका कर्मचारीले भने सप्लायर्स सँग पैसा असुल गर्ने बताएका छन । महालेखाको प्रतिबेदन आएपछि असुल गर्ने लेटाङ नगरपालिकाका लेखा प्रमुख सुशिल बास्तोलले बताउनुभयो ।

Back to top button