खनाल सहित सात नेताको सनाखत नहुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा पेस गरीएका नाम मध्ये झलनाथ खनाल सहित सात जना नेताको सनाखत नहुने भएको छ ।

नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको हो । दल विभाजनका लागि ४१ जना सदस्य भए पुग्छ ।

तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन ।यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो ।

नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा ज–जसको हस्ताक्षर उनीहरूले मात्र बुधवार सनाखत गर्न पाउने जानकारी दिनुभयो।

यसअघि झलनाथ खनालले दिल्लीबाटै मन्जुरीनामा पठाउने र प्रदीप नेपाललगायतका नेताले आयोगमा गएर हस्ताक्षर गर्ने भनिएको थियो ।

यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ ।

Back to top button