जनगायक जेबी टुहेरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको दीर्घरोग थियो ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहनुभएका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराउनुभएका टुहुरेको आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत अत्यन्त चर्चित छ ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उहाँकी छोरी निर्भीका हुनुहुन्छ ।

Back to top button