काबुल विमानस्थलमा अर्को आक्रमणको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुने सम्भावना उच्च रहेको बताउनुभएको छ । अमेरिकाको अफगानिस्तानबाट उद्धार गर्ने समय सीमा अगस्त ३१ मा सकिँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको चेतावनी आएको शैनिक अधकिारीहरुले राष्ट्रपति जो बाइडेनलाई दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

विमानस्थलको गेट नजिक बिहीबार भएको आत्मघाती आक्रमणपछि पनि अमेरिकाले उद्धार उडान जारी राखेपनि बेलायत, इटलीलगायतका देशले भने उद्धार उडानमा रोक लगाएका छन् । आत्मघाती आक्रमणमा अहिलेसम्ममा १७० जनाले ज्यान गुमाइसकेका छन् । आईएस–के ले आक्रमणको जिम्मेवारी लिएको हो ।

विमानस्थलमा गरेको आक्रमणको प्रतिशोद्ध अमेरिकाले शुक्रबार अफगानिस्तानको नान्गहार प्रान्तमा ड्रोन आक्रमण गरी आक्रमणका योजनाकार मानिएका आईएस–के का दुई उच्च पदस्थ सदस्यहरूलाई मारेर लिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएको छ ।

राष्ट्रपति बाइडेनले आत्मघाती आक्रमणमा संलग्नलाई खोजेरै छोड्ने तर अफगानिस्तानमा यो भने अन्तिम आक्रमण नभएकोले अझै आक्रमण हुने उच्च सम्भावना रहेको बताउनुभएको हो । अमेरिकाले परामर्श बिना नै ड्रोन आक्रमण गरेको विषयमा तालिबानीहरुले विरोध जनाएको छ ।

अफगानिस्तानको जिहादिस्ट समूहहरूमध्ये चरम अतिवादी र हिंसात्मक समूह आईएस–केले तालिबानीले युद्ध मैदान छोडर अमेरिकीसँग शान्ति वार्ताको पक्षमा गएको आरोप लगाउँदै हिंसात्मक आक्रमण उत्रेको छ ।

तालिबानले सत्ता कब्जा गरे यता अफगानिस्तानबाट बिभिन्न देशका नागरिकसहित १ लाख १० हजारको उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।

Back to top button