नेकपा एकिकृत समाजवादिमा लागेका १४ सांसदलाई कारबाही नगर्ने सभामुख सापकोटाको निर्णय

काठमाडौं।सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने हुनु भएको छ ।

निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णयमा सभामुख पुग्नु भएको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएको जानकारीदिनु भयो ।

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित हुनुभएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना समेत दिनुभएको थियो ।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गर्नुपर्ने छ।

तर सभामुख सापकोटाले १३ दिनसम्म सूचना प्रकाशित गर्नुभएको थिएन्। । उहाँले १३ औँ दिनमा नयाँ दल दर्ता भएको स्थितिमा कारबाहीको सूचना टाँस नगर्ने निर्णय उहाँले लिनुभएको हो ।

Back to top button