विद्यार्थीको भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न महानगरले थाले तयारी

विराटनगर । कोभिडका कारण लामो समयदेखि बन्द रहेका बिद्यालय खुलाएर विद्यार्थीको भौतिक उपस्थितिमा पठन पाठन सञ्चालनका लागि विराटनगर महानगरले विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेको छ ।

आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा परामर्श गरेका छन् ।

कार्यक्रममा सहभागी विराटनगर महानगरका विद्यालय सन्चालक, अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्नु पर्नेमा जोड दिएका छन् । कोभिडका कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिक रुपमा भइरहेको अनलाईन कक्षाहरुले बालबालिकामा पारेको प्रभावका विषयमा समेत छलफल भएको थियो ।

लामो समय मोवाइल,ल्यापटपको स्क्रिनमा हेर्दा बालबालिकाको आँखा र मस्तिष्कमा समेत दीर्घकालिन असर पर्नेतर्फ ध्यान दिनु आवश्यक भएको सरोकारवालाले बताउनुभएको थियो । छलफलमा उठेका कुराहरुलाई संम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराइको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको छ ।

समितिमा शिक्षक महासंघका बेदु खतिवडा, हिसानका भेषराज पोखरेल, एनप्याब्शन र प्याब्शनकातर्फबाट इन्द्र राई, अभिभावक संघ नेपालबाट देवीपन्थी, सामुदायीक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम छन् ।

समितिले एक हप्ताभित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्ने छ । समितिले एक प्रकारको खाँका तयार गरेपछि कसरी विद्यालय सञ्चालन गर्ने बारे निर्णयमा पुग्ने मेयर पराजुलीले बताउनुभयो ।

Back to top button