सेयर खरिद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित

काठमाडौं सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित हुनु भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो ।

बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गर्नु भएको थियो । ढुंगानाका अन्य नातेदारको नाममा पनि सेयर खरिद भएको खुलेको थियो ।

धितोपत्र बोर्डका अध्यक्षको छानबिन न्यायिक समितिबाट हुनुपर्ने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

अर्थ मन्त्रालयले समेत यसअघि छानबिन समिति बनाएर अध्ययन गरिरहेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएका नेप्सेका पूर्वप्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने यसअघि नै राजीनामा दिइसक्नु भएको छ । साउदले श्रीमती सुशीलाकुमारी बोहोराको नामबाट सर्वोत्तमको सेयर खरिद गर्नुभएको थियो ।

Back to top button