प्रधानमन्त्री देउवाले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोज्दै : भीम रावल

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्न लागेको भन्दै आपत्ति जनाउनु भएको छ ।

सुरुदेखि नै एमसीसीको विपक्षमा उभिएका रावलले अहिलेको विद्यमान अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको समाजिक सञ्जालमा लेख्नु भएको छ ।

नेपालको अस्थिर राजनीतिक अवस्थामा एमसीसी सम्झौता गर्नुभएको देउवाले अहिले पुनः अस्थिर राजनीतिक अवस्थामा संसदबाट एमसीसी पारित गराउन एमसीसीकी उपाध्यक्षलाई बोलाउनु आपत्तिजनक कार्य भएको उहाँले लेख्नुभएको छ । मुलुकमा दीर्घकालिन असर पर्ने कुनैपनी सम्झौता गर्ने प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई जनादेश नभएको उहाँले उल्लेख गर्नुभएको छ ।

आउँदो साता एमसीसीकी उपाध्यक्ष फतिमा सुमर नेपाल आउने र राजनीतिक दलका शिर्ष नेताहरुलाई भेट्ने कार्यक्रम तय छ ।

Back to top button