भौतिक रुपमा विद्यालय खुल्ने भएसँगै जनपथ माविमा सरसफाई (फोटो फिचर)

विराटनगर । लामो समयको निषेधाज्ञाका कारण बन्द रहेका विद्यालय भौतिक रुपमा सञ्चालन हुने तयारी भएसँगै विराटनगर महानगरपालिका–११ स्थित जनपथ माविमा सरसफाई गरिएको छ ।

विभिन्न सामाजिक संस्थाहरुको पहलमा विहान विद्यालय र विद्यालय परिसर सरसफाई गरिएको हो । विराटनगर– ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपाने, नेपाल खेलकुद महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालालगायतको नेतृत्वमा भएको सरसफाई अभियानलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटी, विराट बुद्ध स्पोर्टिङ क्लवलगायतका संस्थाले समेत साथ दिएका छन् ।

सरसफाई अभियानमा सक्रिय वडा अध्यक्ष न्यौपानेले लामो समय बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउन पनि सरसफाई आवश्यक रहेकाले अभियान थालिएको बताउनुभयो । उहाँले वडाभित्र रहेको अर्को सामुदायिक विद्यालयमा सरसफाई गरिने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले विभिन्न संघसंस्थाको सक्रियतामा जनपथ माविमा गरिएको सरसफाई कार्यक्रमप्रति खुशि ब्यक्त गर्दै यस्ता कार्यले सामाजिक उत्तरदायीत्व वहन गर्न प्रेरित गर्ने बताउनुभयो ।

कोरोना भाईरसको संक्रमण तिब्रतर फैलिएपछि जारी गरिएको निषेधाज्ञाका कारण बन्द रहेका विद्यालय सरोकारवाला पक्षसँग छलफल गरि विराटनगर महानगरपालिकाले भौतिक रुपमा खोल्ने तयारी गरेको छ ।

Back to top button