सत्ता टिकाउने दाउमा मुख्यमन्त्री आचार्य

विराटनगर । एमाले छाडेर नेकपा (एकिकृत समाजवादी)मा जान १० जना प्रदेश सांसदले निर्वाचन आयोगमा सनाखत गरेपछि अल्पमतमा परेका मुख्ख्यमन्त्री भीमप्रसाद आचार्यले नयाँ बन्ने राजनीतिक समीकरणले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘एकपटक दलहरुबीच बनेको राजनीतिक समीकरण सधैंका लागि स्थिर रहन्छ भन्ने होइन,’ मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘एमालेको सरकार गिराउन बनेको अहिलेको राजनीतिक समीकरणको इस्यू र एजेण्डा समाप्त भइसकेकोले अब नयाँ समीकरण निर्माण हुन्छ ।’

अहिलेको सत्तारुढ गठबन्धन दलबीच खास समयमा मिलेको इस्यू र एजेण्डा सिद्धिसकेकोले अहिले मुलुकमा नयाँ राजनीतिक समीकरण निर्माणका लागि औपचारिक रुपमा छलफल भइरहेको आचार्यले बताउनुभयो ।

‘इस्यू र एजेण्डाले राजनीतिक दलहरुलाई नजिक र टाढा पु¥याउने हुन्छ,’ एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अहिले मुलुकमा नयाँ राजनीतिक समीकरण निर्माणका लागि धेरै नयाँ इस्यू र एजेण्डाहरु छन् त्यसमा सकारात्मक रुपमा छलफल भइरहेको छ ।’

प्रदेश सरकार सञ्चालन र टिकाउनका लागि दलहरुबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो । उहाँले एमसीसीलगायतका थुप्रै मुद्दाहरुमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको साथ खोजिरहेकोले कुराकानी भइरहेको बताउनुभयो ।

‘मुलुकमा संघीयताको अभ्यास भइरहेकोले मूलतः केन्द्रभन्दा पनि प्रदेशमा छुट्टै तरिकाले अघि बढ्नु पर्ने हो,’ उहाँले भन्नुभयो, ‘तर त्यो अवस्था निर्माण भइनसकेकोले नयाँ राजनीतिक समीकरणका लागि केन्द्रमा नै कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री आचार्यले पार्टी फुटेर नयाँ दल दर्ता भएको दिनदेखि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू काम गर्नका लागि प्रदेश सरकारको नेतृत्वमा आएकोले जनताको लागि काम गर्न चाहना राखेका प्रदेश सांसदहरुले प्रदेशसमा विश्वासको मत दिने दावी गर्नुभयो ।

‘एमाले छोडेर १० जना प्रदेश सांसदले एकिकृत समाजवादीमा जानका लागि अहिले निर्वाचन कार्यालयमा सनाखत गरेको तर त्यो प्रक्रिया टुंगिन २३ गतेसम्म लाग्छ,’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीको कुर्सी ओगट्न होइन, काम गर्नका लागि आएकोले विगत साढे तीन वर्षदेखिको विरासत थामेरै जानुपर्ने छ ।’

उहाँले कुनैपनि हालतमा साढे तीन वर्षको एकल बहुमतको र एमाले नेतृत्वको सरकारको विरासतलाई जोगाउने दावी गर्नुभयो । प्रदेशमा एकिकृत समाजवादीले कानुनी मान्यता पाएपछि चाँडै विश्वासको मत लिएर प्रदेशको कामलाई गति दिने आचार्यको भनाई थियो ।

आचार्यले विकास निर्माणको काममा तिब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेशको नामकरण, प्रदेश सरकारको संरचना निर्माण, शान्ति सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ अघि बढेको बताउनुभयो ।

‘ऐन अनुसारको कार्यसूची बनाएर प्रदेशमा योजनाहरुको कामलाई अघि बढाई बजेट कार्यान्वयनका लागि निर्देशन दिइसकेकोले पहिलो चौमासिकमा योजनाहरुको टेण्डरलगायतको काम सकिन्छ,’ उहाँले भन्नुभयो, ‘पहिले सहज हुँदा गर्न सकेनौं र अहिले दलहरुबीच दुरी बढेकोले प्रदेश नामकरणको विषय अहिले जटिल बनेको छ ।’ औचित्यपूर्ण काम गर्न खखोज्दा पनि राजनीतिक पूर्वाग्रह राख्ने भएकाले दुई तीहाईबाट प्रदेशको नामकरण गर्न सहमति जुटाउन कठिन रहेको आचार्यले बताउनुभयो ।

राजधानीको विषय टुंगो लागेर पनि त्यसका लागि हालसम्म कुनै संरचना निर्माण नभएको र यसपाली बजेट पनि विनियोजन नभएको उहाँले बताउनुभयो । तर केही बजेट निकालेर प्रदेशको संरचना निर्माणको काम सुरु गर्ने व्यवस्थामा लागेको उहाँको भनाई थियो ।

उहाँले सुशासनको लागि यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयहरुको काम अनलाईन प्रणलीमा गर्न पहिलो मन्त्रिपरिषदको बैठकले निर्णय गरी अघि बढाएको बताउनुभयो । आचार्यले कोरोना महामारीको तेस्रो लहरको तयारीका लागि प्रदेश कोरोना जनसुरक्षा कोषबाट १० करोड बजेट निकासा गरेर सामाजिक विकास मन्त्रालयमा पठाइसकेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजिव कोइरालाले एमालेले गठबन्धन फुटाउनका लागि अनेक जोडबल लगाइरहेको तर त्यसले कुनै असर नपर्ने बताउनुभयो । ‘गठबन्धनको बिहीबार बैठक बसेर एकिकृत समाजवादीमा जान सनाखत गरेका प्रदेश सांसदहरुलाई कानुनी मान्यता प्राप्त गरेपछि मात्रै सरकार गठनको विषय अघि बढाउने सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशमा गठबन्धन परिपक्व हुँदै गइरहेकोले कसैको पनि कुनै फण्डा काम लाग्दैन र गठबन्धनको सरकार बन्छ ।’

९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्यमध्ये एमालेका १० जना प्रदेशसभा सदस्य एकिकृत समाजवादीमा लागेपछि एमाले ४१ सदस्यमा खुम्चिएको छ । कांग्रेसको २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १/१ जना प्रदेश सांसद छन् ।

Back to top button