प्रदेश १ सरकारले विश्वासको मत प्राप्त गर्छ : एमाले महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रदेश १ सरकारलाई विश्वासको मत प्राप्त हुने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पोखरेलले विश्वासको मत नदिनेहरु आफै नाङ्गिएर जाने बताउनुभएको छ ।

‘अहिले जस्तो देखिन्छ त्यस्तो नहुन सक्छ’, महासचिव पोखरेलले भन्नुभयो,‘ मुख्यमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ, त्यो बेलासम्म साथीहरु कसरी कसरी प्रस्तुत हुनुहुन्छ हेर्दै जाउँ न ।’ उहाँले प्रदेश १ मा एमालेले विश्वासको मत प्राप्त गर्छ र गर्नुपर्छ भन्दै विश्वासको मत नदिनेहरु आफै नाङ्गिएर जाने बताउनुभएको हो ।

यस्तै अहिले निकै चर्चामा रहेको एमसिसीको विषयमा एमालेका महासचिव पोखरेलले सभामुखले कसरी प्रस्तुत गर्नुहुन्छ त्यसमा निर्भर रहने बताउनुभयो । एउटा प्रकृया अन्तर्गत एमसीसीको प्रस्ताव संसदमा रहेको भन्दै उहाँले संसदमा सभामुखले त्यो प्रस्ताव कसरी प्रस्तुत गर्नुहुन्छ त्यसकै आधारमा एमालेले दृष्टिकोण बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हिजो के भनेर रोक्नुभएको थियो, अब के भनेर प्रस्तुत गर्नुहुन्छ हेरौ न ।’ हिजो एमालेको एक खाले दृष्टिकोण थियो भन्दै अबको दृष्टिकोण सभामुखले के भनेर प्रस्तुत गर्नुहुन्छ त्यसका आधारमा तय हुने उहाँले प्रष्ट्याउनुभयो ।

नेकपा एमाले मोरङले विराटचौकमा आयोजना गरेको बृहद अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर आइपुग्नुभएका महासचिव पोखरेलले पार्टीको केन्द्रीय कार्ययोजना अनुशार यो अगुवा कार्यकर्ताहरुको भेलाको आयोजना गरिएको बताउनुभयो ।

उहाँले केन्द्रीय कार्ययोजना अनुशार ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने र पार्टीभित्रको असमझदारीलाई हल गर्ने उद्देश्य रहेको बताउनुभयो ।

Back to top button