गाँजासहित पक्राउ परेका थुनुवाको अनुसन्धानकै क्रममा मृत्यु :सहायक सिडियोको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । गाँजासहित पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमै मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तहरू आन्दोलित भएका छन् ।

गत शुक्रवार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर–११ का ३७ वर्षीय भीम कामतको आइतवार मृत्यु भएको थियो ।

हिरासतमा रहेकै बेला बिरामी भएपछि कामतलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु रहस्यमय भएको भन्दै मृतकका आफन्त तथा परिवारका सदस्यहरूले टायर बालेर जिल्ला प्रशासन कार्यालय मोरङको अगाडि प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूले नाराजुलुससहित टायर बालेर विरोध गरेका हुन् ।

मृतक कामतको शरीरमा चोट पटक देखिएको भन्दै परिवार तथा आफन्तहरूले प्रहरीले मारेर अस्पतालमा ल्याएको आरोप लगाएका छन् ।

प्रहरीले मरिसकेपछि मात्रै अस्पतालमा ल्याएको मृतककी भाउजु मीनादेवी कामतको आरोप रहेको छ ।

प्रहरीले चरम यातना दिएर हत्या गरेपछि अस्पतालमा ल्याएर आईसीयूमा भर्ना गरेपछि मात्रै परिवारलाई जानकारी दिएको मिना देविको भनाइ रहेको छ ।

यता प्रहरीले भने लागुऔषध प्रयोग गर्न नपाएपछि मृत्यु भएको हुन सक्ने बताएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिनुभयो ।

यसैगरी थुनुवाको मृत्यु भएपछि घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरीएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितिमा सोमबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन भएको हो ।

समितिमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी , विराटनगर महानगरपालिका ११ का वडाअध्यक्ष तिरर्थेन्द्र न्यौपाने, १२ का वडाअध्यक्ष हिरालाल कामत र विरेन्द्र कुमार कार्कीसहितको छानविन समिति गठन गरीएको हो ।

परिवारले मृतकको शव समेत बुझेका छैनन् । शव कोशी अस्पतालको शव गृहमा राखिएको छ ।

Back to top button