एमसिसी सम्झौतालाई काँध हाल्न जरुरी छैनः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ को प्रस्ताव सदनमा आए गम्भीरतापूर्वक विचार गरिने तर अहिले नै हतारिनु आवश्यक नरहेको बताउनुभएको छ ।

आज बसेको एमाले संसदीय दलको वैठकमा अध्यक्ष ओलीले भन्नुभयो,‘हामी हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, ‘एमसीसी अहिले छलफलका रूपमा आएको छ । दलहरूलाई विचार गर्न दिउँ, एमसीसीबारे सबै डकुमेन्ट पढौं–कति फाइदाजनक रहेछ, कति घाटा हुने रहेछ ।’

उहाँले एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको समेत बताउनुभएको छ । उहाँले प्रष्ट्याउँदै भन्नुभयो, ‘यो सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन गरेका पनि हैनौं, अहिले हाम्रो काँधमा हाल्न जरुरी पनि छैन ।’

ओलीले देशको हितको विरुद्ध, जनताको हितको विरुद्धमा भए त्यसलाई आफूहरूको साथ नहुने बताउनुभयो । यद्यपी एमाले संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिएका थिए । केही सांसदले यसको विरुद्धमा लाग्नुपर्ने बताएका छन् ।

बैठकमा सुझाव राखेका २५ जना सांसदहरू मध्ये अधिकांशले एमसीसीबारे पार्टी प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको छ । यस्तै बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी पार्टी कार्यकर्ता जस्तो भएको निष्कर्ष निकालेको छ ।

यसका साथै वैठकले निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

Back to top button