प्रमुख प्रतिपक्षीको अवरोधका बिच राजनितिक दलसम्बन्धी अध्यादेश पेश

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बिच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्नुभएको छ ।

बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन समेत गर्नुभएको थियो ।

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टी विभाजनको मतियार बनेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै अवरोध गरेर एमालेको प्रमुख सचेतक विशाल भट्टराईले भदौ १ गते १४ जना सांसदलाई कारबाही गर्न पाउने भनेर सभामुखलाई टेबुलमा पुर्‍याएपनि सभामुखले सुचना टाँस नगरेको भन्दै त्यसअघि २४ घण्टा नबित्दै सूचना टाँस गरेका नजिर प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा उहाँले माओवादी र जसपालाई लागू हुने नियम एमालेलाई नहुने हो ? भन्दै सभामुखलाई प्रश्न गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजनको लागि सभामुखले सहयोगीको भूमिका निर्वाह गरेको समेत उहाँले आरोप लगाउनुभयो ।

निर्वाचन आयोगलाई १० केन्द्रीय सदस्यलाई कारबाही गरेको सूचना पठाएपनि एमाले विभाजनको लागि षड्यन्त्र भएको बताउनुभयो । उहाँले अहिले त्यो विषय सर्वोच्च अदालतसम्म पुगेको भन्दै त्यसको जवाफ पूरा नभएसम्म सदनको काम अगाडि बढाउन नसक्ने बताउनुभयो ।

उहाँले बोलेपछि एमालेले चर्को नाराबाजि सहित विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेको हो । सभामुखले सदनको मानमर्यादा कायम राख्‍न र संसदको नियमावलीप्रति पटक–पटक सचेत गराउनुभएको थियो । तर, एमाले सांसदहरूले लगातार नाराबाजी गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिनुभएको थियो । सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिनुभएको थियो । बैठक भदौ २५ गतेसम्मलाई स्थगित भएको छ ।

Back to top button