एमसीसीका विषयमा सरकार अनिर्णीत,आज बिहान ९ बजे बैठक बस्दै

काठमाडौँ ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन आबद्ध दलहरू सरकारको साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।

सो विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको गठबन्धन आबद्ध दलको बैठक बिनानिष्कर्ष टुंगियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली बिहीबार नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीले आज भेट वार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले सोही कारण एमसीसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाउनुभएको थियो । तर, बैठकमा गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि कुनै निष्कर्ष आउन सकेन ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो।
बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ हुँदा सरकारको आलोचना बढेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छिटो निर्णय दिन सुझाव दिनुभएको थियो ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीसहितका समग्र राजनीतिक विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजे पुनः बैठक बोलाइएको जानकारी दिनुभयो ।

Back to top button