गृहको मूल्यांकन : झापा सीडीओ सर्वोत्कृष्ट मोरङका न्यून

विराटनगर । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार तिमिल्सिना, अर्घाखाँचीका सीडीओ विष्णु पौडेल र रुकुम पूर्वका तत्कालीन सीडीओ राजकुमार राई कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट ठहरिनुभएको छ ।

गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ए प्लस ग्रेड पाएर तीन सीडीओ उत्कृष्ट ठहरिनुभएको हो ।

गृह मन्त्रालयले गृह प्रशासन सुधार योजनाअन्तर्गत जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र सीडीओबीच वार्षिक कार्यसम्पादन सम्झौता भएको थियो ।

सोही सम्झौता कार्यान्वयनलाई लिएर मूल्यांकन गरिएको गृह मन्त्रालयका योजना महाशाखाका प्रमुख कमलराज ढकालले जानकारी दिनुभयो ।

मन्त्रालयले ग्रेडका आधारमा पहिलो, दोस्रो र तेस्रो गरी वर्गीकरण गरेको छ ।

ललितपुरका सीडीओ ढुण्डीराज निरौला र रुकुम पश्चिमका सीडीओ बद्रिनाथ गैरे ‘ए’ ग्रेड ल्याएर दोस्रो र सोही ग्रेड प्राप्त गरेकी गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा तेस्रो हुनुभएको छ ।

गृह मन्त्रालयले सफ्टवेरको सहयोगमा ६ वटा सूचकका आधारमा सीडीओहरूको मूल्यांकन गर्दै आएको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, विपद जोखिम व्यवस्थापन र समन्वय, आर्थिक आधार लागयतलाई सूचकको रूपमा लिइएको हुन्छ ।

विषेश गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई ४० अंक दिएर मुख्य सूचकको रूपमा मूल्यांकन गर्ने गरिएको छ ।

त्यसमा जिल्लाको सुरक्षा, यातायात अवरोध खुलाउने, सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय तथा निरीक्षण र निर्देशन, बाल सुधार गृह अनुगमन निरीक्षक, अवैध हातहतियार, अपराध नियन्त्रण, जिल्लाको अपराधलाई सुक्ष्म अध्ययन गरेर त्यसलाई काबुमा राख्नका लागि सचेतना कार्यक्रमहरू, जनचेतना कार्यक्रमहरू, अन्तरजिल्ला समन्वय, शान्ति सुरक्षा, राष्ट्रिय परिचय पत्र, सेवा प्रभाव, नागरिकतासम्बन्धी उजुरी र त्यसको निकास, सूचनाको हक र जिल्लामा भएका संघ–संस्थाको निगरानी उनीहरूसँगको समन्वय लगायतका विषयहरू हुने प्रमुख ढकालले बताउनुभयो ।

मन्त्रालयले गरेको मूल्यांकनमा स्याङ्जा, सोलुखुम्बु, लमजुङ, बाग्लुङ, गोरखा, जाजरकोट, हुम्ला, कालीकोट, चितवन, पर्वत र संखुवासभाका सीडीओले पनि ‘ए’ ग्रेड ल्याएको छ ।

यसैगरी सुर्खेत, रौतहट, धनकुटा, सिन्धुली, मकवानपुर, रामेछाप, तनहुँ, भोजपुर, खोटाङ, नुवाकोट, इलाम, रसुवा, जुम्ला, मनाङ, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र उदयपुरका सीडीओ ए माइनस ग्रेड ल्याएर उत्तम ठहरिएका छन् ।

सल्यान, सुनसरी, म्याग्दी, प्यूठान, बारा, कास्की, दाङ, दार्चुला, सिरहा, महोत्तरी, रुपन्देही, रोल्पा, मुगु, अछाम, बझाङ्ग, मुस्ताङ, बैतडी, नवलपरासी सुस्ता पूर्व, धनुषा, भक्तपुर र धादिङका सीडीओ बी प्लस ल्याएर मध्यम भएका छन् । अन्य भने अन्य बी ग्रेड ल्याएर न्यून ठहरिएको गृहमन्त्रालयको योजना महाशाखाले जनाएको छ ।

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारीले भने न्युन ग्रेड मात्रै ल्याउनु भएको छ ।

Back to top button