सन्दीप एक्लैले ६ विकेट लिएपछि नेपालले जित्यो सिरिज,अब ओमान र अमेरिकासँग खेल्ने

काठमाडौँ ।लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ ।

नेपालले पपुवा न्युगिनीलाई दोस्रो १ दिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।

ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रवारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पार्नु भयो । उहाँले ५ दशमलव १ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चनुभएको थियो । ।

लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उहाँले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका विरुद्धको खेलमा १६ रन खर्चेर ६ विकेट लिनुभएको थियो ।

नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाए । बलिङ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १र१ विकेट लिनुभएको थियो। ।

यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । संकटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकास्नुभयो । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिनुभयो। सो क्रममा उहाँले १२३ बल खेल्दै ३ छक्का र २ चौका हान्नुभयो । केसीले २६ बलमा ४२ रन बनाउनुभयो । यसमा उहाँको ४ छक्का र २ चौका सामेल थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाउनुभयो। बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले ३, कबुआ मोरिया र नर्मन भानुआले २–२ तथा चाल्र्स अमिनीले १ विकेट लिनुभयो

यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले पराजित गरेको थियो । नेपालले अब सोमवारदेखि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ खेल खेल्नेछ ।

Back to top button