नेपाली महिला फुटबल टीमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल्दै

विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। अपरान्ह ५ बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो। बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोट खेलको सुरुवात गर्नेछ। खेल सेप्टेम्बर १८ अर्थात असोज २ गते हुनेछ।

यस्तै नेपालले दोस्रो खेल असोज ५ मा हङकङसँग खेल्ने छ । यस समूहका फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

Back to top button