महिलाको झोलामा ‘कन्टामिनेट प्याड’

इन्दिरा भट्टराई,

विराटनगर । आफ्नै नाममा जग्गा पास गर्ने खुसीमा गद्गद् भएर विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय  पुग्नु भएकी  विराटनगर १९ की ३७ वर्षीया विमला कोइरालालाई दिनभर छट्पटि भइरह्यो । त्यस्तो खुशीको मौकामा एउटा समस्याले बिमलालाई दिनभर मानसिक तनाव बढाएको थियो । त्यो तनाव, न त उनीसँगै गएका श्रीमानले थाहा पाए न  अन्य उनका आफन्त । उनीहरूले विमलालाई तनाव भइरहेको होला भन्ने सुइँकोसम्म पाएनन् । तनावको कारण थियो— महिनावारी हुँदा लगाएको प्याड कहाँ फेर्ने !

शौचालय जाऊँ गन्हाएर भोमिट होला जस्तो, नजाउ प्याडमा रगत भरिएर कपडामा लाग्ला भन्ने पिर । रजस्वलाको बेला व्यक्तिगत सरसफाइलाई ध्यान दिन गन्हाएकै शौचालयमा गएर प्याड फेरेपछि अर्को समस्या आइलाग्यो, त्यो प्रयोग भइसकेको प्याड कहाँ फाल्ने ?

शौचालय जाऊँ गन्हाएर भोमिट होला जस्तो, नजाउ प्याडमा रगत भरिएर कपडामा लाग्ला भन्ने पिर । रजस्वलाको बेला व्यक्तिगत सरसफाइलाई ध्यान दिन गन्हाएकै शौचालयमा गएर प्याड फेरेपछि अर्को समस्या आइलाग्यो, त्यो प्रयोग भइसकेको प्याड कहाँ फाल्ने ? केही उपाय नलागेपछि विमलाले नयाँ प्याडमा टाँसिएको  कागजले प्रयोग भइसकेको प्याड बेरेर रुमालमा पोको कसेर ब्यागमा हाल्नुभयो र निस्कनुभयो । पानी पनि राम्रो नभएको र कोही आएर ढोका तान्ला की भन्ने डरले छिटो छिटो गरेर निस्कनु परेको त्यो क्षण सम्झँदा पनि दिक्क लाग्ने विमला सम्झनुहुन्छ ।

‘पेट दुखेर हैरानी, त्यसमा पनि घर बाहिर आइलाग्ने यस्तो तनावले के कामको लागि आएको भन्ने पनि भुलिने रहेछ’ त्यो  दिनभरिको अनुभव सुनाउँदै विमला थप्नुहुन्छ—‘महिनावारी भएको बेला त कहीँ पनि जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।’ तर, महिनावारी भएकै कारण काम र अवसर दुवै छोड्न त कहाँ हुन्छ ?

त्यसो त करिब सात महिना अगाडी  सोही कार्यालयमा लगातार तिन दिन धाउँदा रंगेली नगरपालिका ३ दर्बेसाकी ३५ वर्षीया ज्ञानु न्यौपानेले भोगेको पीडा पनि कम थिएन । ‘फटाफट काम भएन धाइरहनुपरो, ती माथि मलाई हुँदैनथ्यो, तिन दिन सजाय नै पाए जस्तो भयो’ ज्ञानुले भन्नुभयो । दर्वेसाबाट विराटनगरसम्म लामो समय मोटरसाइकल चढेर आउँदा तुरुन्त प्याड फेर्नु  पर्ने भयो ।  तर, ज्ञानुले घरमै पूर्व तयारी गरेर आएका कारण प्याड कहाँ फाल्ने भन्ने चिन्ता भएन । घरबाट हिँड्नु अगाडी प्याड सँगै प्लाष्टिककोे झोला पनि बोकेर आएका कारण प्याड त्यसैमा हालेर ब्यागमा राख्नुभयो । ज्ञानु भन्नुहुन्छ—‘जहाँ पायो त्यहीँ फाल्न भएन, डस्टविन हुँदैन भएको पनि मान्छेको बिचमा हुन्छ । कसरी फाल्नु ? बरु बोकेर घर लगो उतै फालो ।

विराटनगर महानगरपालिका ९ स्थित ट्राफिक चोकमा जोशिला ट्रेडर्स संचालन गर्दै आउनुभएकी ४७ वर्षीया लक्ष्मी ढकाललाई महिनावारी सुक्ने उमेर हुँदै गएकोमा ढुक्क छ । आफ्नै पसल अगाडी  सार्वजनिक शौचालय हुँदा प्रयोग गर्न सजिलो थियो । बाटो निर्माणलगायत कामका कारण डेढ वर्ष यता त्यो शौचालय बन्द छ । पहिले सफा भए पनि त्यहाँ प्याड फाल्ने व्यवस्था नहुँदा शौचालयमा भएको दुलो (प्वाल) हरुवा प्याड खाँदेर महिलाहरूले छोड्ने गरेको लक्ष्मी बताउनुहुन्छ ।

ज्ञानु जस्तै लक्ष्मी पनि महिनावारीको समयमा पूर्व तयारी गरेर पसल आउनुहुन्थ्यो । महिनावारी कुन दिन कुन समयमा हुन्छ पत्तो हुँदैन, त्यसैले २-४ दिन अगाडी नै तयारी गरेर प्याड, पत्रिका र प्लास्टिक झोला बोकेर आउँछु’ लक्ष्मी भन्नुहुन्छ ।

आफ्नो पसल  अगाडी फोहोरको डङ्गुर हुने तर डस्टविन माग्दा पनि नगरपालिकाले नराखेको उहाँको गुनासो छ । डस्टविन राखे अन्य फोहोर सँगै प्याड पनि फाल्न पाइने हुँदा बोकेर घर लानु  पर्ने अवस्था अन्त्य हुने बुझाई छ ।  उहाँ अहिले पनि प्याड बोकेर घर लगेर डस्टविनमा हाल्ने गरेको बताउनुहुन्छ ।

झट्ट सुन्दा सामान्य लागेपनि यो महिलाका लागि ठूलो समस्या हो । सरकारले नीति बनाएर सबै कार्यालयहरू, सार्वजनिक स्थलमा अनिवार्य प्याड, पानी र महिनावारी सरसफाइ सामाग्री व्यवस्थापनको व्यवस्था मिलाउनुपर्ने पत्रकार तिम्सिनाको भनाई छ ।

विराटनगरकी पत्रकार विनु तिम्सिना  महिनावारी भएको समय कष्टकर हुने बताउनुहुन्छ । रिपोर्टिङ नगरी नहुने तर कहाँ प्याड व्यवस्थापन गर्ने भन्ने मुस्किल हुने गरेको उहाँको अनुभव छ । ‘रिपोर्टिङमा नगई हुँदैन, सरकारी कार्यालयमा जानुपरे पनि डस्टविन सम्म हुँदैन’ पत्रकार तिम्सिना भन्नुहुन्छ— शौचालय गयो, प्याड  ब्यागमा बोकेर घर ल्यायो, हैरान लाग्छ ।’ यही गाह्रोले चार दिन छुट्टी दिए पनि हुन्थ्यो जस्तो लाग्ने बताउँदै पत्रकार तिम्सिना भन्नुहुन्छ—‘भनौँ भने यही भएर महिलाले गर्न सक्दैनन् भनेर कुरा काटिहाल्छन् ।’ झट्ट सुन्दा सामान्य लागेपनि यो महिलाका लागि ठूलो समस्या हो । सरकारले नीति बनाएर सबै कार्यालयहरू, सार्वजनिक स्थलमा अनिवार्य प्याड, पानी र महिनावारी सरसफाइ सामाग्री व्यवस्थापनको व्यवस्था मिलाउनुपर्ने पत्रकार तिम्सिनाको भनाई छ ।

अधिकारकर्मी मञ्जिता उपाध्याय सरकारले नीति बनाई महिलामैत्री संरचना बनाएर प्याड, पानी,  हेन्डवास राख्न जरुरी भएको बताउनुहुन्छ । महिलाहरू सक्षम भए पनि यस्ता शारीरिक समस्याले काममा ढिलो हुने अवस्था रहेको उपाध्यायको भनाई छ । आफुपनि धेरै पटक अफ्ठ्यारोमा परेको सुनाउँदै उपाध्यायले धेरै भिडभाड हुने स्थानहरूमा तत्काल व्यवस्थापनका लागि सम्बन्धित कार्यालय-पालिकाले पहल गर्नुपर्ने बताउनुहुन्छ ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साह महिनावारीको समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ । महिनावारीको समयमा पाठेघरको मुख खुकुलो हुने हुनाले नियमित सरसफाइ नगरे जीवाणु छिरेर दीर्घकालीन असर हुने साह बताउनुहुन्छ ।  ब्याक्टेरियाले महिनावारीको समयमा बाहिर आउने रगत मन पराउने भएकोले चाँडो–चाँडो सफा गरेर भित्र छिर्न दिन नहुने उहाँको सुझाव छ । सेनेटरी प्याड  गुणस्तरीय आउन थालेकोले धेरै रगत सोस्ने हुन्छन् तर पनि  सामान्यतया ६ घण्टामा फाल्नुपर्ने उहाँको सुझाव छ । प्याड पूर्ण रुपमा प्रयोग नभइसकेपनि धेरै समय लगाइरहनु स्वास्थ्यका लागि राम्रो नहुने डाक्टर साहको भनाई छ ।

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर मोरङका प्रमुख लोक बहादुर भण्डारी कार्यालयमा शौचालय भए पनि व्यवस्थापन राम्रो नभएको स्वीकार गर्नुहुन्छ । उहाँकै शब्दमा ‘फोहोरी अड्डा’ भनेर परिचित कार्यालय चाँडै महिलामैत्री बनाउने तयारी छ । दैनिक दुई सय बढी जग्गासँग सम्बन्धित प्रशासनिक काम हुने कार्यालयमा करिब  ३० प्रतिशत महिलाहरूको नाममा जग्गा पास हुने हुँदा कार्यालयमा महिलाहरूको बाक्लो उपस्थिति हुन्छ । तर, कार्यालयको पछाडि भागमा रहेको शौचालय धेरैले देख्दैनन् । कार्यालयले  ‘शौचालय यता छ’ भनेर सूचना टाँस सम्म पनि गरेको छैन ।

यस वर्ष बजेट विनियोजन भएकोले कार्यालयलाई महिला मैत्री बनाउने, शौचालय सरसफाइ र प्याड व्यवस्थापनको लागि डस्टविन राख्ने लगायतका काम अगाडी बनाउने योजना रहेको मालपोत अधिकृत भण्डारीले बताउनुभयो ।

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले  कार्यालयका शौचालयमा प्याडको व्यवस्था गरे पनि सार्वजनिक शौचालय, बडा कार्यलयहरुमा व्यवस्थापन नभएको बताउनुभयो । उहाँले सेनेटरी प्याड वितरण, महिनावारीको समयमा गर्नुपर्ने सरसफाइको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यसबर्ष महानगर मातहतका कार्यालयहरू महिलामैत्री बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । महानगरका विभिन्न पाँच स्थानमा  महिलामैत्री हुने गरी सार्वजनिक शौचालय बनाउने तयारी रहेकोले भिडभाड  हुने र अन्य ठाउँमा महिलाका लागि सहज हुने उहाँको भनाई छ ।

बजार तथा भिडभाड हुने स्थानहरूमा सार्वजनिक शौचालय, पानी र हात धुने सामाग्रीको व्यवस्थापन मात्र भए पनि महिलाहरूले सङ्क्रमणको जोखिममा रहनुपर्ने र काम नै अधुरो छोडेर हिँड्नुपर्ने बाध्यता टार्न महिला स्वास्थ्यसँग सम्बन्धित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्दछ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरू अझै पनि महिलामैत्री नहुँदा घर बाहिरको काममा निस्केका महिलाहरूले ‘कन्टामिनेट’ प्याड झोलामा बोकेर हिँड्नुपर्ने बाध्यता छ । जसका कारण महिलाहरूको स्वास्थ्यमा झन् जोखिमको खतरा बढ्न जान्छ ।

Back to top button