तालिबानले महिला तथा बालिकाको शिक्षामा कडीकडाउ गर्ने

एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिला तथा बालिकाको शिक्षामा कडीकडाउ गर्ने घोषणा गर्नुभएको छ ।
देशका विश्वविद्यालयहरूमा तालिबानले महिला र पुरुषलाई बेग्लाबेग्लै बस्न लगाउनेछ किनकि सहशिक्षा इस्लामविरोधी भएको उहाँको धारणा रहेको छ । ।

‘सहशिक्षा इस्लामको सिद्धान्तविपरीत छ, यो राष्ट्रिय मूल्यामान्यता प्रतिकूल छ अनि अफगानहरूको परम्पराको पनि विरुद्धमा छ,’ हक्कानीले भन्नुभयो ।

शिक्षानीतिका बारेमा बताउने क्रममा हक्कानीले क्याम्पसहरूमा महिला र पुरुषलाई छुट्टाछुट्टै राखेर पढाउनुपर्ने वा फरक फरक समयमा पढाउनुपर्ने वा कक्षाकोठाको बीचमा पर्दा वा अर्को कुनै कुराले छेक्नुपर्ने उहाँले बताउनुभयो ।

तालिबानले महिला विद्यार्थीका लागि महिला शिक्षक उपलब्ध हुने आशा गरेको छ । त्यो सम्भव नभएमा पुरुषले नै महिलालाई पढाउन सक्ने तर कक्षाकोठामा शरिया कानूनको पालन गर्नुपर्ने तालिबानको भनाइ छ ।

इस्लामी प्रणाली स्थापित गर्नका लागि पश्चिमविरुद्ध गरिएको जिहाद सफल भएपछि आएको परिणाम नयाँ नियमहरू भएको हक्कानीले बताउनुभयो । बीस वर्षअघि तालिबानले शासन चलाउँदा महिला र बालिकालाई विद्यालय जान नै दिइएको थिएन । अहिले त्यसो नगर्ने बरू तालिबानले जे विद्यमान छ त्यसैका आधारमा निर्माण गर्ने हक्कानीले बताउनुभयो ।

Back to top button