एमसिसी पास हुनेमा आशावादी छु :उपाध्यक्ष सुमार

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ  । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गर्नुभयो।

राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताउनुभयो । ‘चाँडै अनुमोदन होस् भन्ने मेरो चाहना छ’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘म आशावादी छु र राजनीतिक पार्टीहरुलाई गम्भीर बन्न मेरो आग्रह छ ।’

कोरोना महामारीले थलिएको नेपालको अर्थतन्त्रको हितमा एमसीसी महत्वपूर्ण हुने बताउँदै सुमारले नेपालको आर्थिक विकास अमेरिकी चाहना रहेको बताउनु भयो।

उहाँ सोमबार फर्कने अमेरिकी दूतावासले जनाएको छ । काठमाडौं भ्रमणमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेट्नु भएको थियो।

Back to top button