गठबन्धनमा सहमति नजुट्दा सकसमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बन्नु भएको थियो ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नु भएका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकारलाई अघि बढाइरहुन भएको छ । त्यसमा पनि एक जना भने राज्यमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटकपटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आउनुभएको छ । उहाँले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको लिस्ट दिन नेताहरूलाई आग्रह गरीरहनुभएको छ ।

‘प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारमा एकदमै चिन्तित हुनुहुन्छ, कसरी हुन्छ पहिले मन्त्रिपरिषद् विस्तार गरौं भन्नेतर्फ उहाँको ध्यान छ तर गठबन्धन आबद्ध दलका नेताहरूको एकपछि अर्को वाहनाले प्रधानमन्त्रीलाई सकस परिसकेको छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भन्नु भयो। ।तर, गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूले भने प्रधानमन्त्री देउवालाई मन्त्रीको लिस्ट दिन सकेका छैनन् । उनीहरूले मन्त्रीका आकांक्षी धेरै भएको र संख्यासमेत बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आइरहेका छन् ।

‘प्रधानमन्त्रीले बिहीबारदेखि नै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम माग्दै आउनु भइरहेको छ तर संख्या कम भयो । पुग्दैन भन्ने कुराले लिस्ट प्रधानमन्त्रीलाई दिइएको छैन, उपप्रधानमन्त्रीमा पनि बार्गेनिङ भइरहेको छ,’ ती कांग्रेस नेताले भन्नु भयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीले केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिने दावि गर्नुभयो। । ‘प्रधानमन्त्रीले नाम मागिसक्नु भएको हो तर पाउनुभएको छैन । केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री लागिरहनु भएको छ,’ कांग्रेस सहमहामन्त्री महतले भन्नु भयो ।

Back to top button