सभामुखले बोलाएको सर्वदलीय वैठक प्रभावहिन, एमाले मनाउन अझै पहल गर्न सुझाव

काठमाडौं । संसदमा जारी गतिरोधलाई समाधान गर्न भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रभावहिन भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकाप्रति असहमति जनाउँदै जारी राखेको गतिरोधको अन्त्य गर्न सभामुखले सर्वदलीय वैठक आह्वान गर्नुभएको थियो । तर नेकपा एमालेले भने सभामुख नसच्चिएको भन्दै वैठकमा सहभागिता नजनाएपछि आज बसेको वैठक प्रभावहिन बन्न पुगेको हो ।

वैठकमा सहभागि राजनीतिक दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई मनाउन अझै पहल गर्न सुझाव दिनुभएको छ । एमालेलाई मनाउन राखिएको बैठकमा एमाले नै नआएपछि निष्कर्षमा पुग्न नसकिने भन्दै अझै पहल गर्न नेताहरूले सुझाव दिएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले फेरि पनि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरिएको बताउनुभयो । उहाँले संवादबाट समस्या समाधान हुनुपर्ने भन्दै उहाँले सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङ्देनलगायतको उपस्थिति थियो ।

Back to top button