अपाङ्गता भएका व्यक्तिहरुको उत्पादन बिक्रीका लागि विराटनगरमा कोसेली घर

विराटनगर । प्रदेश १ भरिका अपाङ्गता भएका व्यक्तिहरुले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा कोसेली घर आजदेखि सञ्चालनमा ल्याएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले विराटनगर ११ जनपथ टोलस्थित गुदरी हटिया अगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो ।

कोसेली घरको प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साम्सोहाङले कोसेली घर अपाङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन बिक्री, बितरणका साथै बजारीकरणको भरपर्दो माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थबाट उत्पादन गरेर आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभयो ।

कोसेली घर स्थापना तथा सञ्चालनका लागि मन्त्रालयले राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ लाई १० लाख बजेट उपलब्ध गराएको छ । अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले कोसेली घरले प्रदेशभरि छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन संकलन गरेर बिक्री, वितरण र बजारीकरण गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

‘अपाङ्गता भएका व्यक्तिहरुले सीपमूलक तालिम लिएर सानो लगानीमा उत्पादन गर्दै आए पनि बिक्री, वितरण तथा बजारीकरणमा समस्या झेल्दै आउनुभएको थियो,’ उहाँले भन्नुभयो, ‘अब कोसेली घर स्थापना भइसकेकोले प्रदेशभरिका आङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन ल्याएर बिक्री, वितरणका साथै चौतर्फी बजारीकरण गर्ने सहज हुन्छ ।’

अपाङ्गता भएका व्यक्तिहरुले गरेको उत्पादन कोसेली घरले खरिद गरेर ल्याउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘यसले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि सघाउ पुग्छ,’ उहाँले भन्नुभयो, ‘कोशेली घरमा अगरबत्ती, हार्पिक, फिनेल, मुडा, गुडियालगायतका खेलौना, कुचो, कुसन, क्रिष्टलका पोते र कस्मेटिक सामाग्रीलगायतका उत्पादन बिक्री हुन्छ ।’

अपाङ्गता भएका व्यक्तिहरुले आय–आर्जनका लागि बनाएका यी सामाग्री बिक्री केन्द्रमार्फत खुद्रा बिक्री गरिने उहाँको भनाई छ । कोसेली घर सञ्चालनका लागि दुई जना कर्मचारी नियुक्ति गरिएको उहाँले भन्नुभयो ।

मुनाफासहित बिक्री गरेर कर्मचारी व्यवस्थापन, कोठा भाडा बुझाएर बाँकी रहेको मुनाफा अपाङ्गता संरक्षण कोषमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश १ मा ९५ हजार अपाङ्गता भएका व्यक्तिहरुको संख्या रहेको महासंघले जनाएको छ । परिवारसँग आश्रित भईरहनु पर्ने व्यक्तिहरुलाई विभिन्न सीपमूलक तालिम दिएर आयआर्जनको काममा लगाउने अभियान महासंघले सञ्चालन गर्दै आएको छ ।

Back to top button