नेकपा एसको तेह्रथुम जिल्ला कमिटी गठन, प्रदेश १ मन्त्री लछुमन तिवारीका विश्वासपात्रहरु नै बढी

तेह्रथुम । नेकपा एकिकृत समाजवादीको आज तेह्रथुम जिल्ला कमिटी गठन भएको छ । तेह्रथुमको म्याङलुङमा सम्पन्न कार्यकर्ता भेलाले कृष्ण चोङबाङको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नवगठित समितिमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश १ का उद्योग पर्यटन वन, तथा वातावरणमन्त्री लछुमन तिवारीका विश्वासपात्रहरु नै बढी देखिएका छन् ।

नेकपा एमालेभित्र रहँदा एउटै समूहमा रहेका नेताहरु पार्टी विभाजनपछि दुईतिर लाग्दा नेता तिवारीकै विश्वासपात्रहरु एसमा लागेका हुन् । मन्त्री तिवारी भने पार्टीभित्र आन्तरीक संघर्ष गरेपनि पार्टी विभाजन नै गर्नु ठिक नभएको भन्दै नेकपा एमालेमा नै रहनुभएको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा बादल सुब्बा, सचिवमा गजेन्द्र कन्दङ्वा, सह–सचिवमा योगेन्द्र गड्तौला चयन हुनुभएको छ। यस्तै भेलाले अनुभुतिबम नेपालीलाई केन्द्रीय सदस्यमा र गंगाराम खनाललाई केन्द्रीय सल्लाहकार सदस्यका लागि सिफारिस गरेको छ ।

यस्तै बिष्णु बिक्रम सुब्बा, भुपतिलाल श्रेष्ठ, राजेन्द्र बराल र कमला दर्नाललाई प्रदेश सदस्यमा र नैनसिङ सुवेदी, टीका खड्कालगायतलाई प्रदेश सल्लाहकारका लागि सिफारिस गरेको नवगठित समितिका अध्यक्ष कृष्ण चोङबाङले बताउनुभएको छ । यस्तै भेलाले श्रीमान् श्रीमतीलाई नै पार्टीको केन्द्र र प्रदेशसमितिका लागि सिफारिस गरिएको भन्दै आलोचना भएको छ ।

भेलामा सहभागि एक नेताले भन्नुभयो,‘ पहिलो भेलामै नाताबाद झल्कियो, पुहँचकै भरमा श्रीमान श्रीमतिकै नाम सिफारीस गरीएको छ ।’ भेलाले अनुभुति बम नेपालीलाई केन्द्रीय सदस्यमा र उहाँकी पत्नि कमला दर्नाललाई प्रदेश सदस्यका लागि सिफारीस गरेको छ ।

Back to top button