नेपालद्वारा अमेरिका ५ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओपनर व्याट्स म्यान कुशल भुर्तेल र रोहित पौडेल चम्केपछि अमेरिकामाथि सहज जित निकाल्न नेपाल सफल भएको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा सम्पन्न त्रिकोणाात्मक सिरिजको पहिलो खेलमा अमेरिकालाई नेपालका कुशल र रोहितले अद्र्धशतक बनाएर पराजित गरेको छ । लिग २ मा नेपाल, ओमान र अमेरिकाको सहभिागिता रहेको छ ।

टस जितेर ब्याटिङ गरेका अमेरिकाले नेपाललाई दिएको २३१ रनको लक्ष्य ४९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । अमेरिकासँगको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाउन सफल हुनुभयो भने रोहितले अविजित ६२ रन बनाउनुभयो ।

ओपनर ब्याट्स म्यान कुशल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाउँदै पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्नुभएको थियो । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्नुभएको थियो ।

४२ बल खेल्दै २ चौका प्रहार गरी २३ रन बनाएका आसिफ अमेरिकाका नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराउनुभयो । आसिफलाई गुमाएपछि नेपालका लागि कुशलसँग कप्तान ज्ञानेन्द्र मल्लले पारी सम्हाल्नुभयो । तर उहाँले १५ बल खेल्दै १ छक्का र १ चौकाको मद्दतले व्यक्तिगत १७ रन बनाउँदा निसर्ग पटेलले एलबीडब्लु धरापमा पार्नुभयो ।

सुरुदेखि पारी सम्हालिरहेका कुशलले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ५१ रनको अर्धशतकीय साझेदारी गर्नुभयो । ३३ औं ओभरको पहिलो बलमै निसर्ग पटेलले कुशललाई पनि एलबीडब्लु धरापमा पार्न सफल हुनुभयो।

पाँचौ नम्बरमा ब्याटिङका लागि उत्रेका कुशल मल्ल १ रन बनाएर पबेलियन फर्किनुभयो । मल्ललाई सस्तैमा गुमाएपछि रोहितले विकेटकिपर विनोद भण्डारीसँग ८३ रनको साझेदारी गर्नुभयो । नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा भण्डारी ३७ रन बनाएर ४९औं ओभरको दोस्रो बलमा आउट हुनुभयो । रोहितलाई साथ दिन क्रिजमा आएका करण केसीले १ रन लिँदै अविजित रहनुभयो । केसीसँगको साझेदारीमा रोहितले २ रन जोड्दै अमेरिकाविरुद्ध जित दिलाउनुभयो ।

अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिनुभयो । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए । अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे । तेस्रो विकेटका लागि मोनाक र निसर्गले ४९ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर सुशान्त मोदानी र करिमा गोरेले १६(१६ रन जोड्दा अर्का ओपनर स्टेभेन टेलरले १४ रन जोडे । नास्थुस केन्जिगे र सन्जय कृष्णमुर्तीले समान १३ रन बनाए । जसकरण मल्होत्राले ११ रन जोडे । अमेरिकाका अभिषेक पाराडकार १३ र कप्तान सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे । एलमोर अचिनसनले खाता खोल्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी, विक्रम सोबले २(२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

सुशन भारीले १० ओभरमा ३१ रन मात्र खर्चेका थिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चिए । कुशल मल्लले पनि पूरै स्पेल बलिङ गर्दा १० ओभरमा ४५ रन खर्चिए । अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ ।

नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

Back to top button