बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । आजको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाएका हुन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले मात्रै भाग लिनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्। एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।

एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको छ।

यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ। उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको हो ।

Back to top button