प्रदेश १ का ५ सहित देउवा सरकारद्वारा ८५ सह–सचिवको सरुवा

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का ५ सहित ८५ जना सह–सचिवको एकैपटक सरुवा गरेको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्रीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा अर्थ मन्त्रालयबाट सह–सचिव सुमन दाहाललाई पठाएको हो ।

यस्तै, प्रदेश १ कै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव निरु दाहाल पाण्डेलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ । उहाँको ठाउँमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट रामानन्द तिवारी आउनु भएको छ ।

यस्तै, प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन कुमार शाक्यलाई सरुवा गरी उहाँको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मोहनराज चापागाईलाई पठाएको छ ।

यस्तै, प्रदेश १ का आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेर उहाँको ठाउँमा गृह मन्त्रालयबाट कालीप्रसाद रिजाललाई पठाएको छ ।

यस्दै प्रदेश प्रमुख कार्यालयका सचिव कविराज पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

Back to top button