दलित बालिकाको गाउँपालिकाको एक दिने अध्यक्षको अनुभव

विराटनगर । बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवले आज एक दिन गाउँपालिकाको अध्यक्षको जिम्मेबारी सम्हाल्नुभयो । बुढीगंगा २ सक्माकी ऋषिदेवलाई ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले एक दिने अध्यक्षको जिम्मेबारी लिखित रुपमा दिनुभएको थियो ।

ऋषिदेवले पदभार ग्रहण गरेपछि कार्यपालिकाको बैठक बोलाएर गाउँपालिकाको बारेमा जानकारी लिई कर्मचारीलगायतलाई निर्देशन दिनुभएको थियो । निर्देशन दिएर उहाँले स्वास्थ्य चौकी र विद्यालयको अनुगमन गरी आवश्यक निर्देशन दिनुभयो ।

अनुगमनबाट फर्केर आएपछि ऋषिदेवले गाउँपालिकामा जनताको गुनासो सुन्नुभयो । त्यसपछि गाउँ कार्यपालिकाको बैठक बोलाएर बाल क्लबलाई ५० हजार निकासा दिने, गाउँपालिकाको भौतिक संरचना बालमैत्री बनाउने र सन् २०२५ सम्ममा बाल विवाह मुक्त घोषणा गर्न आजैबाट काम थाल्ने निर्णय गर्नुभयो ।

त्यसपछि ऋषिदेवले गाउँपालिका अध्यक्ष माझीलाई जिम्मेवारी फिर्ता गर्नुभयो । ऋषिदेवले आफैले गाउँपालिका सञ्चालन गरेर पालिकाको कामकाज, सञ्चालन प्रक्रियालगायतका समग्र पाटोको बारेमा प्रत्यक्ष ज्ञान प्राप्त भएको बताउनुभयो ।

Back to top button