जसपा फेरि फुटको त्रासमा

काठमाडौँ ।  सरकारमा सहभागी हुने नेताको नामावली टुंगो लाग्दै गर्दा अध्यक्ष उपेन्द्र यादवलाई जसपा फेरि विभाजन हुन त्रास रहेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले दल विभाजनका लागि ल्याएको अध्यादेश अहिले पनि सक्रिय रहेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरेको थियो ।

सोही अध्यादेशका कारण जसपाबाट विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा लोसपा गठन भइसकेको छ । तत्कालीन राजपा पृष्ठभूमिका नेताहरू जसपामा आउँदा अध्यक्ष यादवले सबैलाई मन्त्री बनाउने आश्वासन दिनुभएको थियो । तर, जसपाले ६ मन्त्री मात्र पाउने भएकाले सबैलाई मन्त्री बनाउन सम्भावना छैन । त्यसैले असन्तुष्ट सांसदले सोही अध्यादेशका कारण पुनः अर्को दल गठन गर्ने हो कि भन्ने त्रास अध्यक्ष यादवलाई रहेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुरामभट्टराई र अध्यक्ष यादवले पहिला सो अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनुपर्ने पाँच दलीय गठबन्धनको बैठकमा माग गर्दै आउनु भएको छ ।

जसपाको संसदीय दलमा २१ जना सांसद रहेका छन् । राष्ट्रिय सभामा २ र प्रतिनिधिसभामा १९ जना सांसद जसपाको रहेको छ ।

सत्तारूढ गठबन्धनका बीचमा भएको आन्तरिक सहमतिअनुसार जसपाले ६ मन्त्रालय पाउनेछ । मन्त्री बन्ने लोभ तथा बार्गेनिङ गरेर महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका केही सांसद जसपामा पुगेका थिए । जसपामा पनि असन्तुष्ट सांसदको संख्या ४ भए अहिलेकै अध्यादेशअनुसार नयाँ दल गठन गर्न मिल्ने देखिन्छ ।

Back to top button