सामूहिक हत्या : डिप्रेसन मुख्य कारण

काठमाडौं । कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ ।

सात प्रदेशमा भएका २५ वटा सामूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या मुख्य कारण देखिएको नेपाल प्रहरीले जनाएको हो । नेपालमा एक व्यक्तिबाट छ जनासम्मको हत्या भएको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५।०७६ देखि २०७८।०७९ सम्म करिब चार वर्षको अवधिमा सामूहिक हत्याका २५ वटा घटना दर्ता भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाले ज्यान गुमाएका छन् ।प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार डिप्रेसनपछि सामाजिक विभेद र पारिवारिक दुव्र्यवहार अर्को कारण हुन् । आर्थिक विचलन, अवैध यौन सम्बन्ध र लागूऔषधका कारण पनि समाजमा यस्ता घटना हुने गरेका छन् ।

डिप्रेसन पीडितबाट आफन्त तथा परिचित व्यक्तिको सामूहिक हत्या घटना नेपाली समाजमा चुनौतीपूर्ण समस्याका रूपमा देखिएको छ । यसको ज्वलन्त उदाहरण सङ्खुवासभा मादी नगरपालिका–१, उम्लिङ खोलागाउँमा एकै परिवारका छ सदस्यको हत्या घटना पनि हो ।

हजुरआमा नाता पर्ने ८४ वर्षीया पार्वती कार्की, ठूलोबुवा ५२ वर्षीय तेजबहादुर कार्की, ठूलीआमा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको छ ।

सो हत्या घटनामा संलग्न अभियुक्त २६ वर्षीय लोकबहादुर कार्कीले ठूलाबा तेजबहादुरले ‘तल्लो स्तरको शब्द प्रयोग गरी गालीगलौच गर्ने भएकाले व्यक्तिगत रिसइबीका’ कारण हत्या गरेको प्रहरीसँगको बयानमा स्वीकारेका हुन् ।

हत्या घटनाको मुख्य कारण ‘व्यक्तिगत रिसइबी’ देखाए पनि अभियुक्त कार्की डिप्रेसन पीडित भएको भनाइ प्रहरीको छ । उनी डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए । करिब डेढ वर्षअघि पाँचथरको मिल्काजुङ आरुबोटेमा पनि यस्तै घटना भएको थियो ।

उक्त घटनाका मुख्य दोषी मानवबहादुर माखिम पनि डिप्रेसनका बिरामी भएको प्रहरीको अनुसन्धानले देखाएको हो । पाटन अस्पतालका मनोचिकित्सक डा. अनन्त अधिकारी डिप्रेसन नियमित रूपमा औषधि सेवन गर्दा निको हुने रोग हो तर खाने र छोड्ने गर्दा सुधार नआउने बताउनुहुन्छ ।

प्रहरी प्रधान कार्यालयको एक तथ्याङ्कले पाँच वर्षको अवधिमा प्रदेश १ मा तीन, प्रदेश २ मा तीन, बागमतीमा चार, लुम्बिनीमा दुई, कर्णालीमा पाँच र सुदूरपश्चिम छवटा सामूहिक हत्या घटना भएको देखाएको छ ।

ती घटनामा पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसन, मानसिक समस्या, अनैतिक सम्बन्ध, रिस, सम्पत्ति, जग्गा विवाद, लेनदेन रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । मनोचिकित्सक अधिकारीका अनुसार परिस्थितिले मानिस तनावमा आउँछ, तनावपछि उत्पन्न आवेग नियन्त्रण गर्न नसक्दा हत्या वा आत्महत्या घटना हुन्छ ।

Back to top button