ओमानसंग नेपाल ५ विकेटले पराजित

काठमाडौं । जतिन्दर सिंहको शतकप्रेरित ओमानले विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ५ विकेटले पराजित गरेको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको लक्ष्य पूरा गर्‍यो । ओमानका लागि जतिन्दरले शानदार इनिङ खेले । ओमानका लागि ६२ बलको सामना गरेका उनले १२ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यस्तै महम्मद नदिमले ३८, सुरज कुमारले २० तथा आयान खानले १८ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र करण केसीले १/१ विकेट लिनुभएको थियो।

पहिलो इनिङमा आशिफ शेखको ९० रनप्रेरित नेपालले १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

ओमानी बलरसामु सम्हालिन नसकेको नेपालको एक इन्डबाट लगातार विकेट जाँदा ओपनर आशिफले भने ओडीआई करियरकै पहिलो अर्धशतकीय इनिङ खेल्दै ९० रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि १ सय १२ रनको सामना गरेका आशिफले ७ चौका र १ छक्का प्रहार गर्नु भएको थियो।

ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट हुनुभएको थियो। सोमबार भएको अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट हुनुभएको थियो ।

सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा करण केसीले ४८ बलमा २१ रन जोडे । सुशन भारी २ रनमा अविजित रहनुभएको थियो ।

ओमानका लागि तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, नेस्टोर धाम्बाले २ तथा मोहमद नदिम र जिशन मक्सुदले १/१ विकेट लिनु भएको थियो ।

Back to top button