लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी

काठमाडौँ । रुपन्देही । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिनुभएको छ । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उहाँको दावी छ ।

वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिनुभएको हो । जाहेरीमा उहाँले निजहरुलाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गर्नुभएको छ ।

सांसद वलीले साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो । उहाँले जाहेरी रुपन्देहीमा दर्ता भए पनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ ।

वलीले साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपचारको लागि जाने तयारी गरेको बेला साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत लगायतले नेपालगञ्ज पुर्‍यादिने भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पुर्‍याइ ५ दिनसम्म बन्धक बनाएको बताउनुभएको थियो । उहाँले आफूलाई विज्ञप्ती तथा अन्य केही माइन्यूटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप समेत लगाउनु भएको छ ।

वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद् हुन् । माओवादी र एमाले नेकपाबीचको एकता भग भएपछि उनी कहिले माओवादी, कहिले एमालेमा बसाइ सर्दै बसाईसर्दै आउनु भएको छ ।

Back to top button