प्रदेश १ सभाको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय

विराटनगर । प्रदेश १ सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिसका लागि निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रदेशसभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

हिउँदे अधिवेशन आह्वान भएपछि मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव राख्ने छन् । एमालेका १० जना प्रदेश सांसद नेकपा एकिकृत समाजवादीमा गएर मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको समर्थन नरहने पत्र प्रदेशसभा सचिवालयमा आइतबार दर्ता गराएपछि सरकारले बहुमत गुमाएको हो ।

विश्वसको मत प्राप्त गर्न मुख्यमन्त्री आचार्यलाई ४६ प्रदेश सांसदको मत आवश्यक हुन्छ । तर ९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्यसहित एकल बहुमत रहेको एमालेका १० जना सांसद एकिकृत समाजवादीमा गएपछि अल्पमतमा परेको छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने विश्वासका साथ प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले आफूले काम गर्न सरकारको नेतृत्व गरेकोले जनताको काम गर्ने पक्षमा रहेका प्रदेश सांसदहरुले विश्वासको मत दिदने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु नगरे अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना प्रदेश सांसद हुनुहुन्छ ।

Back to top button