क्रमश : खुल्न थाले शैक्षिक संस्था

इटहरा । मोरङका विभिन्न स्थानीयतहमा क्रमश : विद्यालयहरु खुल्न थालेका छन् । कोभिड–१९ को महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरु बल्ल भौतिक रुपमा सञ्चालन गर्न थालिएको हो ।

मोरङको रतुवामाई नगरपालिकाले पनि सामुदायीक तथा निजी विद्यालयमा नियमित शैक्षिक क्रियाकलाप सुरु गरेको छ । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भोतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेपछि रतुवामाईमा पठनपाठन सुरु भएको हो ।

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्रियाकलाप खुम्चिदै गएपछि विद्यालय सञ्चालन गरिएको रतुवामाई– ६ कादुपाडा स्थित सरस्वती माविका शिक्षक दिनेशकुमार बिष्टले जानकारी दिनुभयो ।

यद्यपी कोभिड– १९ को जोखिम हटिनसकेको भन्दै विद्यालयलाई सजगता अपनाउन आग्रह गरिएको छ । धेरै ठूलो भिड नहोस भन्नका लागि विद्यालयहरुले आलोपालो रुपमा विद्यार्थीलाई बोलाउने गरेका छन् ।

रतुवामाई–९ स्थित जनता माध्यमिक विद्यालयले दुई सिफ्टमा विद्यालय सञ्चालन गर्ने गरेको छ । कक्षागत रुपमा सीफ्ट छुट्याएर बालबालिकालाई पढाउन थालिएको जनता माविका शिक्षक सुभाष रेग्मीले बताउनुभयो ।

यस्तै कतिपय विद्यालयले रोल नम्बरको आधारमा जोर बिजोर प्रणाली अपनाएका छन् भने कसैले जोर बिजोर कक्षा सञ्चालन गर्ने गरेका छन् । लामो समयपछि विद्यालय भौतिकरुपमा नै जान पाएपछि विद्यार्थीहरु हर्षिद छन् ।

Back to top button