एमालेमा माधव नेपालको आवश्यकता छैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पार्नु भएको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेताहरूलाई नै प्रश्न गर्न भ्याउनुभयो ।

ओलीले भन्नुभयो, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने , फेरि पार्टी फुटाउन , माधव नेपालको आवश्यकता किन म बुझ्दिन ।

सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गर्नुभएको थियो। । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला । तर, यो सवाल–जवाफ होइन । म घरमा थिएँ, कसैले बोलेको भए मैले सुनेको छैन । तर साथीहरुले बेला बेलामा भन्ने गरेका छन् । त्यसलाई जवाफ दिएको हो ।’

साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाउनु भयो ।

Back to top button