विवादास्प विधेयक तत्काल फिर्ता लिन प्रेस काउन्सिलको आग्रह

पोखरा । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले धावा बोलेको भन्दै काउन्सिलले फिर्ता लिन आग्रह गरेको हो ।

काउन्सिलले बिहीवार विज्ञप्ति जारी गरी विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ ।

काउन्सिलको हालै बसेको बैठकले स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि प्रहार हुने गरी विधिशास्त्रीय मूल्य, मान्यता र सिद्धान्तको खिल्ली उडाउँदै विधेयक ल्याइएको काउन्सिलको निष्कर्षसमेत निकालेको थियो । विधेयकमा जसका विरुद्ध समाचार लेख्यो, उसैले पत्रकारलाई कारबाही गर्न सक्ने, सूचनाको हक खोस्नेजस्ता विवादास्पद प्रावधान राखिएका छन् ।

विधेयकमा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा भएका व्यवस्थाविपरीत दर्तामा कडा प्रावधान, आचारसंहिता उल्लंघन कारबाहीका नाममा कैद र जरिवाना तोक्ने, मुद्दाको शुरू कारबाही र किनारासम्मका विवादास्पद प्रावधान छन् ।

‘संविधान र कानूनविपरीत यसरी ल्याइएको अन्य विधेयकका विषयमा यसअघि नै काउन्सिलले आफ्ना सुझाव र धारणा सार्वजनिक गरिसकेको छ । गण्डकी प्रदेश सभामा पेश भएको विधेयकले सञ्चार क्षेत्र र आमनागरिकको हकमा आघात पुर्‍याएकाले विवादास्पद उक्त विधेयक तत्काल फिर्ता लिन प्रेस काउन्सिल नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Back to top button