सुदूरपश्चिम प्रदेश सरकारमा २ मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवार शपथ ग्रहण गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो।

लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराउनुभएको थियो। मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् ।

पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिनुभएको थियो ।

नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्नुका साथै सत्ता साझेदार दल हो ।

रिक्त रहेका मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । सोही अनुसार एकीकृत समाजवादीले तामाङ र बोहरालाई मन्त्री बनाएको छ ।

राज्यमन्त्री बोहरा नेकपा एमालेमा विवाद हुँदा अध्यक्ष केपी ओली पक्षमा खुल्नुभएको थियो । गत जेठ २५ गते मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत लिँदा समेत राज्यमन्त्री बोहराले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिनुभएको थियो। तर एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादी पार्टीमा उहाँले भदौ २१ गते सनाखत गर्नु भएको थियो ।

५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० र जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १र१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

Back to top button