१ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन

विराटनगर । मध्यपहाडी राजमार्गले छोएका खोटाङका ४ स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ ।

१ नम्बर प्रदेश सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेंसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको छ ।

आयोजनाअन्तर्गत अनाज बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय, धनकुटाका कृषि अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो।

‘७ वटै प्रदेशका आर्थिक करिडोरमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच गत २०७७ पुस ६ गते सम्झौता गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘सडक आसपासका स्थानीय वासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कार्यक्रम सातवटै प्रदेशमा सन् २०२५ सम्म सञ्चालन हुन्छ ।’

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीबास, धनकुटामार्फत पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुंगामा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।

Back to top button