नेपाल पहिलोपटक एकदिवसीय खेलमा अमेरिकासँग पराजित

काठमाडौँ । नेपाल पहिलोपटक एकदिवसीय खेलमा अमेरिकासँग पराजित भएको छ । ओमानको अल क्रिकेट मैदानमा शुक्रबार अमेरिकाले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई ६ विकेटले हराएको हो । नेपालमाथिको सानदार जितसँगै अमेरिकाले विश्वकप लिग–२ मा लगातार ६ खेलमा हारको पूर्णविराम लगाएको छ । पहिलो ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ७४ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले २९।३ ओभरमा केवल ४ विकेट गुमाउँदै एक सय ७५ रन जोड्यो ।

नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । अमेरिकासँग खेलमा पराजित भएको नेपाल अंक तालिकामा समेत कमजोर अवस्थामा पुगेको छ । आइसिसी विश्वकप २ लिगको तालिकामा नेपालले आठ खेलमा ६ अंक मात्र जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिकाले आठ खेलबाट १६ अंक बनाउँदै दोस्रो स्थान बलियो बनाएको छ । शीर्ष स्थानमा ओमानले २० अंक बटुल्दा दश खेलमा जित निकालेको छ ।

Back to top button