वाणिज्य संघको चुनावले दिएको सन्देश

–भूमिप्रसाद पाठक,

पृष्ठभूमि :

वाणिज्य कारोबारमा देशकै अग्रणी मानिने विराटनगर, मोरङको पूर्वोत्तर क्षेत्रका उर्लाबारी र पथरीस्थित वाणिज्य संघको चुनाव भर्खर सम्पन्न भएका छन् ।

व्यापार–व्यवसाय र उद्योगको क्षेत्रमा क्रियाशील निजी संस्थानमार्फत घुसेको राजनीतिले पनि चुनावी घटनाबाट गहिरो पाठ सिकेको हुनुपर्छ । पथरी उद्योग वाणिज्य संघको १८ औँ साधारणसभा गत भदौ २६ गते सम्पन्न भयो ।

यसको दुई दिनपछि अर्थात् २८ गते चुनावीसभा सम्पन्न भयो । पथरीको चुनाव र चुनावी परिणामको धङ्धङ्गी सकिन नपाउँदै भदौ ३१ मा उर्लाबारी उद्योग वाणिज्य संघको चुनाव सम्पन्न भयो । आवरणमा वाणिज्य संघ भएपनि अन्तरवस्तुको लडाइँ जीतहार राजनीतिक घटनाक्रम जस्तो भयो ।

निवर्तमान उपलब्धी :

छिमेकमा छिमेकी सम्बन्ध बनाएर बसेको दुइटै बजारस्थित वाणिज्य संघको चुनाव र यसले दिएको परिणामले निजी क्षेत्रमा मात्र नभएर राजनीतिक जोड घटाउको अभ्यासलाई समेत प्रभावित पारेको छ । निजी क्षेत्रमा देखिएको अनुचित राजनीतिक प्रवेशले सामाजिक जनजीवनलाई समेत अन्यत्र मोड्ने र अनुचित सम्बन्ध विकासका लागि अनुचित ढंगले जोड्ने काम गरेको छ ।

निवर्तमान अध्यक्ष दीपक बस्नेत नेतृत्वको कार्यसमितिले संस्थाको जीवनमै उल्लेख्य काम गरेको थियो । शुन्य पूंजी र सुकुम्बासी अवस्थामा रहेको संस्थालाई बजारमै आफ्नो नाउँमा जमिनको मालिक बनाउने र यहि वर्षमा कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउनु चानचुने कुरा थिएन ।

निकै ठूलो पौरखले आर्जिएको यो सम्पत्तिलाई अघि बढाउन, पूर्ण नहुञ्जेलसम्म निमार्णाधीन अवस्थाको कामलाई निरन्तर अघि लाने, साना तथा मझौला व्यापारी–व्यवसायीहरूको प्रतिस्थापन व्यवस्थापन गर्ने, औसत आयआम्दानी नभएका व्यापारी–व्यवसायीलाई राहतस्वरूप ऋण सापटी उपलब्ध गराउने, कोरोनाकालमा सावधानीका साथ व्यापार–व्यवसायलाई सुचारू राख्न सक्ने वातावरण बनाउने, जिल्लाकै ठूलो राजस्व केन्द्रको रूपमा राजस्व संकलन एवं कर कार्यालय स्थानीय शहर बजारमै सञ्चालनमा ल्याउने काम सामान्य थिएन ।

राजनीतिक लडाइँले यस्ता विषयवस्तुहरूलाई ओझेलमा पारिदियो । मत खसेको साँझ निर्वाचन आयोगको प्रसंग जोडेर ओली आयोग मुर्दावाद भने सँगै यो लडाइँ आफैमा कति राजनीतिक थियो, सुन्नेबुझ्ने सबैले सजिलोसँग अनुमान लगाउन सकिन्छ ।

प्रतिस्पर्धाको मनोविज्ञान :

पछिल्लो एक साताभित्र अलिक अघि पथरीमा सम्पन्न चुनावमा निर्धारित कामको पूर्णताका लागि नेतृत्वको निरन्तरता बाहेक स्थानीय व्यापारी–व्यवसायी र उद्योगीका मुद्दाहरू उठेनन् । बरू राष्ट्रिय राजनीतिको सर्लक्कै प्रभाव देखियो । जस्ताको तस्तै फोटोकपी भयो ।

राजनीतिक आस्थाका हिसावले नेकपा (एमाले) निकट रहेको संस्थापन पक्षको नेतृत्वलाई धुलो चटाउने अभिप्रायका साथ स्थानीय एमाले विरोधी शक्तिहरू गठबन्धनमा आवद्ध भए । लामो समयदेखि बामपन्थीको पकडरहेको यस क्षेत्रमा काँग्रेस नेतृत्वको गठबन्धनलाई सघाउन संघीय निर्वाचन क्षेत्रका सांसददेखि लिएर काँग्रेसका दिग्गज नेताहरू सक्रिय रहे ।

चुनावको तयारी, तामझाम र चुनाव अघि वा पछिको रौनकलाई हेर्दा संस्थापन पक्षविरूद्ध गठबन्धन मात्र होइन, गाँठबन्धन पनि राम्रोसँग देखिएको थियो । एमाले पक्षधर व्यापारी–व्यवसायी नेतृत्वलाई हराउन काँग्रेस नेतृत्वको गठबन्धनमा गाँठिएको नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई चुनावी परिणामले हिस्स बुढी हरिया दाँत झैँ पारेको देखिन्छ ।

कम्युनिष्ट आन्दोलनभित्र परस्पर एकअर्कालाई शत्रु देख्ने अभ्यासको रूपमा एमाले निकट उम्मेदवारलाई हराउन माओवादी केन्द्रको नेतृत्व समेत आफ्ना गठबन्धन उम्मेदवार लिएर मतदाता र घरद्वार भेटघाटमा रहे । चुनावको तयारी, तामझाम र चुनाव अघि वा पछिको रौनकलाई हेर्दा संस्थापन पक्षविरूद्ध गठबन्धन मात्र होइन, गाँठबन्धन पनि राम्रोसँग देखिएको थियो ।

एमाले पक्षधर व्यापारी–व्यवसायी नेतृत्वलाई हराउन काँग्रेस नेतृत्वको गठबन्धनमा गाँठिएको नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई चुनावी परिणामले हिस्स बुढी हरिया दाँत झैँ पारेको देखिन्छ ।

काँग्रेसले लिएको मूल नेतृत्व मातहत समाजवादी र माकेले पदाधिकारी सहित ४/४ सिट लिएका थिए भने जसपाले एउटा । गठबन्धनका घटक समाजवादी, माके र जसपाले काँग्रेसलाई जिम्मेवारीपूर्वक सहयोग गरेको मत परिणामले देखाएको छ भने गठबन्धनका घटक समाजवादी, माके र जसपाले कुनै एक स्थान पनि सुरक्षित गर्न सकेनन् ।

गठबन्धनभित्र विजयको खुशी मनाउन नपाउँदै परस्पर अविश्वास र तिक्तता बढेको नेतृत्व स्वयंद्वारा लेखिएका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा छरपस्ट पाइन्थ्यो । संस्थापन पक्षले आफूलाई राजनीतिक निकटताको प्रयोग गरेन, कहिल्यै एमालेकरण गरेन तर पनि एमाले निकटको यो नेतृत्वको उपस्थितिलाई हेर्दा एमालेविरोधी शक्तिहरू सबै एक ठाउँमा हुँदा पनि एमाले एक्लैले आधाभन्दा बढी मतसमेत लिएर पदाधिकारी सहित सदस्यहरूमा बर्चस्व जमाएको छ ।

यस घटनाले पथरीमा कांग्रेसको मनोवल अलिकति भए पनि बढेको होला तर कम्युनिष्ट नामधारी समाजवादी र माके दुबै शक्ति घर न घाटका भएका छन् ।

वस्तुगत यथार्थ :

झण्डै ८५ प्रतिशत मतदाता सामेल निर्वाचन मार्फत गठबन्धनका घटक शक्तिहरू घर न घाटका भएका मात्र छैनन् । दीपक बस्नेत नेतृत्वको कार्यसमितिले अघि सारेका एजेण्डाहरू असरल्ल हुने स्थितिमा पुगेका छन् ।

लगानीकर्ताले निर्धक्क लगानी लगाउन सकोस् भनेर शान्ति सुरक्षाको प्रत्याभूति बाहेक महिला तथा युवा उद्यमशीलता वृद्धि र विकासमा अगुवाइ गर्ने, शव–बाहन खरिद गर्ने, प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्न सहयोग कोष खडा गर्ने, विस्थापित व्यापारी–व्यवसायीका छोराछोरीको शिक्षादिक्षामा सहयोग र सहजीकरण गर्ने, शहरमा लघु, घरेलु र साना उद्योग व्यवसाय सञ्चालनमा ल्याउन पहल गर्ने, शहरको सौन्दर्यता वृद्धिसहित सार्वजनिक शौचालय निर्माण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, सडकबत्ती जडान गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योग निर्माण र विकासका लागि योजनाबद्ध कार्यसम्पादन गर्ने, सामाजिक क्षेत्रको विकासमा सरकारसँग साझेदार शक्तिको रूपमा काम गर्ने योजनाहरू थिए, अब क्रमशः शितका थोपासरह हुने चिन्ता छाएको छ स्थानीयमा ।

तुलनात्मक राम्रो उर्लाबारी :

उर्लाबारीमा सम्पन्न चुनावले भने अलिक भिन्नखालको सन्देश दिएको छ । निर्वाचन तयारीदेखि लिएर परिणामसम्म आइपुग्दा यहाँ पनि राजनीतिक गन्ध त देखियो नै ।

राजनीति रंगभित्र राजनीतिक चरित्रका हिसावले बामपंथी शक्तिहरू एक ठाउँमा उभिएका छन्, एकाकारित भएका छन् भने गैर वामपन्थीहरूको गठबन्धनको रूपमा अर्को एउटा शक्ति मैदानमा देखियो ।

मतदाताले राजनीतिक गठबन्धनको चरित्रलाई मात्र मन पराएनन् बरू निजी क्षेत्रको आवश्यकतानुसार व्यक्तिको योग्यता–क्षमतालाई पुरस्कृत गरे । फलतः प्रगतिशील खेमाका शेरबहादुर भण्डारी नेतृत्वको व्यापारी–व्यवसायिक नेतृत्व विजयी भयो ।

युवा उद्यमशीलता वृद्धि–विकासमा ध्यान दिएको मतदाताले तरूण उमेरका नित्तम चौहानदेखि लिएर नुतन राईंलाई समेत नेतृत्वमा अघि सारे । यो अर्को राम्रो पक्ष हो । बामपंथी जनमत आफ्नो पोल्टामा राखिरहन उर्लाबारीको प्रयोग सिकाइयोग्य छ ।

उपसंहार :

निजी क्षेत्रमा राजनीतिक रंगको अन्तरघुलन आफैमा राम्रो होइन । जबरजस्ती कसैले प्रवेश गराए मतदाताको मतमार्फत सर्वस्वीकार्य हुन्न भन्ने कुरा निर्वाचन परिणामले देखाएको छ ।

जन–जनमा मन साटेर बसेको एमाले, एमालेबाहेकको शक्ति एकझुत्तो हुँदा पनि कमजोर देखिएन, कमजोर भएन । आफ्ना यी दह्रिला खुट्टा रहुञ्जेल एमालेले बैसाखी टेक्ने रहर गर्नुहुन्न । गठबन्धनका नाउँमा झत्तो बाँधिन आवश्यक देखिएन ।

निजी संस्थामा व्यक्तिको योग्यता–क्षमताको प्रतिस्थापन, प्रतिस्पर्धामा कार्यक्रम र कार्ययोजनाहरू अघि सार्नु टड्कारो खाँचो देखियो । जन–जनमा मन साटेर बसेको एमाले, एमालेबाहेकको शक्ति एकझुत्तो हुँदा पनि कमजोर देखिएन, कमजोर भएन । आफ्ना यी दह्रिला खुट्टा रहुञ्जेल एमालेले बैसाखी टेक्ने रहर गर्नुहुन्न । गठबन्धनका नाउँमा झत्तो बाँधिन आवश्यक देखिएन ।

निर्वाचित नयाँ पदाधिकारीले व्यापारी–व्यवसायी समुदायको छाता संगठनको रूपमा रहेको यो निजी संस्थालाई गैरराजनीतिक बहस, छलफल, कार्ययोजना निर्माण, कार्यसमिति, पदावधि र प्रतिस्पर्धाको वातावरण बनाउनेतर्फ उद्यत रहनुपर्छ । व्यापारी–व्यवसायी समुदायमा राजनीतिक ढंगले छरिएको भ्रमलाई चिर्न विजेता साथीहरूमार्फत योजनाबद्ध ढंगले अघि जाने काम गर्नुपर्छ ।

विजेताहरूले निवर्तमान नेतृत्वको उत्तराधिकारीको रूपमा आफूलाई उभ्याउने र आफ्नो भूमिकालाई प्रभावकारी ढंगले पेश गर्नुपर्छ । आफ्नो कार्यालय भवन निर्माणको अधुरो र अपुरो पक्षलाई पूर्णतः सम्पन्न नहुञ्जेल यसलाई उठाइरहनुपर्छ । सबैखाले व्यापारी–व्यवसायीले निर्धक्क लगानी लगाउने र व्यापार–व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति गराउन पहल लिनुपर्छ ।

साना तथा मझौला व्यापारी–व्यवसायीका मुद्धाहरूलाई विजेता साथीहरूले निरन्तर उठाइरहनुपर्छ । निवर्तमान कार्यसमितिको पहलकदमीमा कर कार्यालय ल्याएको प्रसङ्ग सहित यसको प्रभावकारिता बढाउनुपर्छ । संघीय सरकारको नापतौल विभागको कार्यालयको माग भएको कुरा आएको छ । यसलाई आफ्नो एकमात्र एजेण्डाको रूपमा उठाइरहनुपर्छ ।

स्थानीय शिक्षा, स्वास्थ्य, पर्यटन, पर्यटन–प्रवद्र्धन, सडक सुधार, विजुलीबत्ती, पार्किङ, शौचालय निर्माणका क्षेत्रमा आफ्नो तर्फबाट संस्थागत भूमिका अभिवृद्धि गर्न दत्तचित्त भएर लाग्नुपर्छ । स्थानीय सरकार र सरोकारवाला संघसंस्थामाझ साझेदार शक्तिको रूपमा उद्योग वाणिज्य संघलाई विकास गर्न र विश्वसनीय पार्टनर बनाउन भूमिका खेल्न अग्रसरता लिनुपर्छ ।

युवा तथा महिला उद्यमशीलताको वृद्धि र संस्थागत विकास गर्न कौतुहलता जगाउने, योजना बनाउने र यो अभियानमा सबैलाई उद्धेलित गर्नुपर्छ । समाजवाद उन्मुख अर्थतन्त्रको मेरूदण्ड–निर्माणको रूपमा साना–मझौला, घरेलु, लघु तथा वित्तीय कारोबारमा सरोकारवालाको पहुँच विकासमा सहयोगी बन्ने प्रयासमा रहनुपर्छ ।

युवा तथा महिला उद्यमशीलताको वृद्धि र संस्थागत विकास गर्न कौतुहलता जगाउने, योजना बनाउने र यो अभियानमा सबैलाई उद्धेलित गर्नुपर्छ । समाजवाद उन्मुख अर्थतन्त्रको मेरूदण्ड–निर्माणको रूपमा साना–मझौला, घरेलु, लघु तथा वित्तीय कारोबारमा सरोकारवालाको पहुँच विकासमा सहयोगी बन्ने प्रयासमा रहनुपर्छ ।

एक हातमा इमान र निष्ठाको झण्डा र अर्को हातमा फलामे अनुशासनको डण्डा बोकेर नेतृत्व आचरण, संस्थागत सदाचारिता, रखरखावको पारदर्शिता, इमान, निष्ठा, पेशागत मर्यादा आदि पक्षलाई स्थापित गर्ने भगिरथ प्रयास गर्नुपर्छ । यसैमा उहाँहरूको नेतृत्वकालीन जीवन सफल भए नभएको मापन हुनेछ । नेतृत्व विकासको क्रम सहज ढंगले अघि बढ्ने छ । शुभकामना सहित !

Back to top button