एमसीसीको विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्छ : शेखर कोइराला

विराटनगर । सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालाले एमसीसीको विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभयो । ‘एमसीसीमा केही प्रावधानहरु छन् । देशका कानुनहरु भनेको छ तर कानुन र संविधान भनेको दुई बेगला बेगलै कुरा हुन्,’ विराटनगरमा शनिबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भन्नुभयो, ‘संविधानमाथि त एमसीसीको कानुन लागु हुँदैन होला । त्यो नेताहरुले बुझाउन सक्नु पर्यो नी ।’

देशमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल, झलनाथ खनालदेखि अहिलेसम्मका सबै जनाले प्रधानमन्त्री हुँदा एमसीसी पास गर्नु पर्ने भन्ने तर प्रधानमन्त्रीबाट हटेपछि पास गर्नु हुँदैन भन्नुले नेपाल अप्ठयारोमा पर्ने कोइरालाको भनाई थियो । ‘यसअघि एमालेले गर्दा अरुण तेस्रो जाँदा के अवस्था आएको थियो त्यो पनि बुझ्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘त्यो फर्किदासम्म कतिवर्ष नेपालीलाई अध्याँरोमा बस्नु पर्यो । त्यसैले यसलाई मिलाउँ, सहमति गरेर अघि बढौं ।’

कोइरालाले एमसीसीको विषयमा सबभन्दा पहिले देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरु एक ठाउँ उभिएर सहमति गरी अघि बढ्नु पर्ने बताउनुभएको छ । ‘एमसीसीले अहिलेसम्म गठबन्धनमा असर पर्छ भन्ने देखिएको छैन तर असर पर्दैन भन्न सकिदैन ।’ उहाँले भन्नुभयो ।

कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक हिसाबले अघि बढेको आरोप लगाउनुभयो । उहाँले संसद छलेर अध्यादेशबाट देश चलाउनु लोकतान्त्रिक तरिका हो भन्दै प्रतिप्रश्न गर्नुभयो ।

‘चलिरहेको संसद बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश सरकारले ल्यायो,’ उहाँले भन्नुभयो, ‘संसद छलेर अध्यादेश त ल्याउनु हुँदैन नी । सरकार अलोकतान्त्रिक हिसावले अघि बढ्दै छ भन्ने कुरा त देखिराख्या छ त ।’

कांग्रेस नेतृत्वकै सरकार छ । तर आफूहरु कै नेतृत्व भए पनि गलत कुराहरुको विरुद्धमा बोल्नै पर्ने कोइरालाको भनाई थियो । ‘जननायक वीपी कोइरालाले त्यही सिकाउनु भएको छ । न डारऊ तिमिहरु आफ्ना नेताहरु सित भन्नलाई,’ उहाँले भन्नुभयो, ‘सरकारको अलोकतान्त्रिक प्रवृतिको विरोधमा लडिरहेका छौं ।’

सरकार गठन भएको ६७ दिन बित्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्नु र ५ जनाले सरकार चलाउन नसक्नुलाई लोकतान्त्रिक सरकार भन्न मिल्छ भन्दै कोइरालाले प्रश्न गर्नुभयो । कांग्रेसलाई लोकतान्त्रिक पार्टी भनिन्छ तर अलोकतान्त्रिक प्रवृतिबाट विधि, विधान सबैलाई मिचेर अगाडि बढिरहेको भन्दै उहाँले प्रश्न उठाउनुभयो । ‘अहिले पनि प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले पार्टीको विभागहरुमा नाम ल्याइराख्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको विरुद्ध हामी लडिरहेका छौं ।’

कांग्रेसको ७५ वर्षको इतिहासमा पहिलो पटक पार्टी सभापति तथा प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा प्रहरी, प्रशासन लगाएर अधिवेशन गरिएको प्रति कोइरालाले विरोध जनाउनुभयो । ‘पुलिस, प्रशाासनको भरमा अधिवेशनन गराउन थालियो भने पार्टीको अवस्था के हुन्छ ?,’ उहाँले भन्नुभयो, ‘त्यो प्रवृतिको हामीले विरोध गरेका छौं ।’

अब नेतृत्व परिवर्तले मात्रै कांग्रेस लोकतान्त्रिक तरिकाले अघि बढ्न सक्ने कोइरालाको भनाई थियो । ‘हामीले पार्टीको नेतृत्व परिवर्तनका लागि जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्छौं,’ उहाँले भन्नुभयो, ‘कोइराला परिवार बाहेकका पनि धेरै जना सभापतिका आकांक्षी हुनुहुन्छ त्यसैले सबैलाई मिलाएर हामी अघि बढ्छौं ।’

प्रदेश १ र बागमति प्रदेशमध्ये एउटामा कांग्रेस नेतृत्वको प्रदेश सरकार बन्ने उहाँले बताउनुभयो । दुबै प्रदेशमध्ये प्रदेश १ मा कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने आफ्नो चाहना रहेको तर त्यो समझ्दारीले निर्धारण हुने कोइरालाको भनाई थियो ।

नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुबै प्रदेशमा एकिकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार गठनको माग गर्नु गैरजिम्मेबारी कुरा भएको कोइरालाले बताउनुभयो । उहाँले आफूहरुले जिम्मेबार भएर एउटा प्रदेशमा मात्रै कांग्रेस नेतृत्वको सरकार गठन हुने भनेको बताउनुभयो । कोइरालाले अहिले गठबन्धन अघि बढ्नु पर्छ तर निर्वाचनमा गठबन्धनसँग मिलेर कांग्रेस नजाने बताउनुभयो ।

Back to top button