बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

विराटनगर । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

Back to top button