एकिकृत समाजवादी आफ्नै शक्तिले अगाडि बढ्छ : नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिले पार्टी अगाडि बढ्ने बताउनुभएको छ ।

पोखरामा विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले माओवादीसँग मिल्ने कुरा गलत भएको प्रष्ट्याउनुभएको हो । देशको पछिल्लो अवस्थाले नेकपा एमाले भन्ने बित्तिकै सबैले नाक खुम्च्याउने गरेको भन्दै उहाँले यो अवस्था कसरी आइपुग्यो भन्ने सवैले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देशको अवस्था किन यस्तो भयो ? नेकपा एमालेको नाम लिँदा सवैले नाक खुम्च्याउँछन् । सारा जनताको नजरमा तल खसिसकेको छ ।’ आफूहरू गण्डकीमा कमजोर रहेको स्वीकार्दै उहाँले पार्टीसँग ५ प्रतिशतमात्र शक्ति छ भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

उहाँले गण्डकीमा टिकट दिँदा विभेद गरिएको भन्दै पीडित–पीडित एक भएर बलियो बनेको उहाँले बताउनुभयो । उहाँले एकसाताभित्र एकिकृत समाजवादी पनि सरकारमा सहभागी हुने जानकारी गराउनुभयो ।

अध्यक्ष नेपालले केन्द्र सरकारसँगै लुम्बिनी प्रदेशमा पनि सहभागी हुने र प्रदेश १ र वागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको बताउनुभयो ।

Back to top button