संखुवासभामा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा लोकबहादुरका भाइ नरेश सहित चार जना प्रहरी अनुसन्धान तानिए

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित चार जना प्रहरी अनुसन्धान तानिएका छन् ।

एकै परिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ । उहाँका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रवार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रहरीले जनाएके छ ।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

Back to top button