प्रदेश १ मा यौनजन्य घटनामा बृद्धि

विराटनगर । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो ।

मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताउनुभयो । जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएका छन् ।

सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन् । अप्रिल देखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकको अभिलेखका आधारमा अप्रिल देखि जुनसम्मको अवधिमा बाल अधिकारका घटना मध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुर्व्यवहारका घटनामा २ बालक, १९ बालिका, बाल विवाहको घटनामा ४ बालिका र बलात्कारका घटनामा ५० बालिका गरि ७६ जना पीडित भएका छन् ।

महिला अधिकार अन्तर्गतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुर्व्यवहारका घटनामा ३ जना गरि ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताउनुभयो ।

जनवरी देखि मार्च सम्मको अवधिमा बालबालिका विरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौन दुर्व्यवहारका १६, विद्यालयमा दिईने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सोही अवधिमा महिला विरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएका छन् । बलात्कारका घटनामा २८, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा १, घरेलुहिंसाका २५, बेचविखन तथा ओसारपसारका ३ र बहुविवाहका ९ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको जनाएको छ ।

प्रदेश १ का १४ जिल्लाका इन्सेक प्रतिनिधिहरुबाट संकलन गरिएका घटनाहरुको आधारमा जनवरी देखि जुन सम्मको मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको तथ्यांक सहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको वर्षपुस्तकमा समेट्ने घटनाहरुको अभिलेखिकरण थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीवीच अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो । वर्षपुस्तक प्रकाशन गर्नुअघि गरिएका छलफलबाट आएका सुझावले पुस्तक थप परिपक्व बन्ने बताउनुभयो ।

प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपालको मानव अधिकारको अवस्था थाहा पाउन वर्षपुस्तक हेरेपुग्ने बताउनुभयो । कार्यक्रममा इन्सेक प्रदेश प्रमुख सोमराज थापा, इन्सेकका श्रीराम बजगाई, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले बोल्नु भएको थियो ।

Back to top button